आज साउन १५ : खिर खाएर मनाइँदै

नौलो समाचार संवाददाता
२०७९ श्रावण १५, आईतबार मा प्रकाशित ९९० पटक पढिएको

आज साउन १५ : खिर खाएर मनाइँदै

साउन १५, काभ्रे। आज साउन १५ गते अर्थात खिर खाने दिन ।आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो ।

दूधमा मर-मसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस