कांग्रेस भातृसंगठनद्वारा भुम्लु गाउँपालिकालाई जस्तापाता र पाल हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७९ श्रावण १६, सोमबार मा प्रकाशित ७५६ पटक पढिएको
कांग्रेस भातृसंगठनद्वारा भुम्लु गाउँपालिकालाई जस्तापाता र पाल हस्तान्तरण

साउन १६, काभ्रे। नेपाल विद्यार्थी संघ र तरुण दल काभ्रेले भुम्लु गाउँपालिकालाई  जस्ता पाता र पाल वितरण गरेको छ।

अविरल बर्षासँगै भुम्लु गाउँपालिकाको बिभिन्न ठाउँमा बाढी र पहिरोले क्षेती पुगेको भन्दै नेपाली कांग्रेस भुम्लु गाउँपालिका ईकाई समिति, नेपाल विद्यार्थी संघ काभ्रे र तरुण दल काभ्रेले गाउँपालिकालाई संयुक्त रुपमा जस्तापाता र त्रिपाल उपलब्ध गराएको हो।

अविरल बर्षाका कारण भुम्लु गाउँपालिकाको विभिन्न स्थानमा पहिरोका कारण बस्ति जोखिममा परेर नागरिकलाई समस्या भएपछि गाउँपालिका

नागरिकलाई सहयोग गर्न सो सामग्री उपलब्ध गराएको नेपाल विद्यार्थी संघका नेता अञ्जनराज खतिवडाले जानकारी दिनुभयो। उहाँले भुम्लका नागरिकलाई विपद् परेका समयमा सहयोग हुन्छ भन्ने उद्देश्यले उक्त विपद्का सामग्री वितरण गरेको बताउनुभयो।

तरुण दलका नेता सुजन लामा र नेपाली भुम्लु गाउँपालिका ईकाई सचिब सदिक्षा लामाले कांग्रेस आफैले गएर वितरण गर्नुभन्दा पनि स्थानीय सरकारबाट नै वितरण गर्दा वास्तविक पीडित समक्ष पुग्ने विश्वासका साथ सामग्री उपलब्ध गराएको बताउँदै वितरण गरेको सामान छिटो भन्दा छिटो वास्तविक पीडितसम्म पु¥याउन समेत अनुरोध गर्नुभएको छ।

अध्यक्ष प्रेमबहादुर भुजेलले विपद्को वेलामा सहयोग गर्नु सबै सचेत नागरिकको दायित्व भएको उल्लेख गर्दै विपदमा समस्यामा परेका नागरिकलाई सहयोगको लागि उपलब्ध गराएको सामग्रीले पालिकालाई समेत ठुलो हौसला मिलेको बताउनुभयो। अविरल बर्षाका कारण भएको समस्यालाई बुझेर भुम्लुवासिन्दालाई गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुपक अधिकारी लगायतको उपस्थिति रहेको थियो।

भुम्लु गाउँपालिकाको सापिङ, चौवास, सिमथली र खेबसिम्ले लगायतको ठाउँमा अविरल बर्षाका कारण पहिरो गएपछि करिब २४ घर परिवारलाई स्थान्तरण नै गर्नु पर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस