घुस लिएको आरोपमा पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा, साढे २२ लाख रुपैयाँ बरामद

नौलो समाचार संवाददाता
२०७९ श्रावण १७, मंगलबार मा प्रकाशित ५८९ पटक पढिएको
घुस लिएको आरोपमा पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा, साढे २२ लाख रुपैयाँ बरामद

साउन १७, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाईलिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नम्बर-१ मनकामना मार्गस्थित अरण्य होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको हो।

आयोगको टोलीले निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँसमेत फेला पारेको जनाइएको छ। उनको साथबाट बरामद भएको कुल २२ लाख ५० हजार रुपैयाँसहित उनीमाथि लागेको आरोपका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।​

प्रतिक्रिया दिनुहोस