पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

नौलो समाचार संवाददाता
२०७९ श्रावण १८, बुधबार मा प्रकाशित १७९९ पटक पढिएको
पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

साउन १८,काभ्रे। पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेको छैन। यहाँ ६८ जना कर्मचारीका करार म्याद सकिएको छ।

करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने बारेको फाइल नगर प्रमुख रामशरण भण्डारीको सचिवालयमा पुगेको छ। स्वीकृत दरवन्दी अनुसार विभिन्न पदमा एकवर्ष अघि माग भएको ४२ जना कर्मचारीको आवेदन उपर पनि थप निर्णय हुन सकेको छैन।

पनौती नगरका सुचना अधिकारी एवं वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार नगरपालिकामा अस्थायी/करार दरवन्दी १ सय १२ जना रहेको छ। हाल करारमा कार्यरत ६८ कर्मचारी मध्य १२ जना बालमैत्री सहजकर्ताको रुपमा कार्यरत छन्।

एकवर्ष अघि नगरपालिकाले विज्ञापन गरी माग गरेको ४२ दरवन्दीमा करिब ८ सय जनाको निवेदन परेको थियो। नगरपालिकामा करारमा नियुक्ति गर्ने बारे छुट्टै कार्यविधि नभएको अधिकारीले बताउनु भएको छ। नगरपालिका गठन पछि प्राविधिक कर्मचारी करारमा राख्ने बारे मन्त्रालयको निर्देशिका थियो भन्दै उहाले त्यसैलाई गाइडलाइन बनाएर पनौतीमा करार कर्मचारी नियुक्ति गरेको बताउनु भएको छ।
‘साबिक गाविसमा अस्थायी रुमामा कार्यतर कर्मचारीहरु नगरपालिका गठन भएपछि करारमा रुपान्तरन भए’ वरिष्ठ अधिकृत अधिकारी भन्नुहुन्छ– यहाँ २०५६ साल देखि कार्यरत कर्मचारी पनि करारमै छन्। निरन्तर करारमा कार्यरत कर्मचारी मध्य सबै भन्दा बढी प्राविधिक रहेको नगरपालिकाको भनाई छ।

सुचना अधिकारीका अनुसार एकवर्ष अघि नगरपालिकाले करारमा नियुक्ति गर्ने गरि कम्युटर तथा लेखा सहायक १२ जना, इन्जिनियर, सवइन्जिनियर ५ जना, कार्यालय सहयोगी १२ जना र नगर प्रहरी १३ जना माग गरेको थियो। माग भए अनुसार करिब ८ सय जनाले निवेदन दिएपनि अहिले सम्म कुनै कार्वाहि अघि बढेको छैन। ‘न त विज्ञापन रद्ध भएको सुचना आएको छ, न त निवेदकले वुझाएको दस्तुर फिर्ता नै भएको छ’ प्रशासकिय अधिकृत अधिकारी भन्नुहुन्छ– नगरमा जम्मा करार दरवन्दी १ सय १२ जना छ।

प्रतिक्रिया दिनुहोस