नक्सा पास नगरी आवास निर्माणको काम नगर्न सिजि भिलेजलाई पनौती नगरपालिकाको आग्रह

विधि र नियम विपरित जादैनौं: नगरप्रमुख भण्डारी
नौलो समाचार संवाददाता
२०७९ श्रावण १९, बिहिबार मा प्रकाशित ९८५ पटक पढिएको
नक्सा पास नगरी आवास निर्माणको काम नगर्न सिजि भिलेजलाई पनौती नगरपालिकाको आग्रह

साउन १९, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक आवास निर्माणको काम जारी राखेको छ।

ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालयलाई अनुरोधलाई गरिसकेको छ। यधपी काम भने रोकिएको छैन।

नक्सा पास विना नै धमाधम घरहरु निर्माण भैरहेको बारेमा विभिन्न सञ्चार माध्यममा समाचार आउन थालेपछि घरनिर्माण कार्य रोक्न पनौती वडा नम्बर-९ कार्यालय र नगरपालिकाका कर्मचारीहरुले दिएका सल्लाह अनुरुप नगरप्रमुख रामशरण भण्डारीले कम्पनीसंग विधि र नियम अनुरुप अगाडी बढ्न ध्यानाकर्षण गराउनुभएको छ।

निर्माण कार्य रोक्न कम्पनीका व्यक्तिहरुसंग भेटेर नगरप्रमुख भण्डारीले नियम विपरित जान नसकिने भन्दै सिजि प्रोपर्टीज प्रा.लि. का प्रतिनिधिसंग नक्सा पास गरेर मात्र निर्माण कार्य अगाडी बढाउँन आग्रह गरेको र त्यसप्रति आफु प्रतिबद्ध रेहको जानकारी दिनुभयो।

नक्सा पासको लागि कम्पनीले नगरपालिकाबाट ३६ वटा नक्सा पास किताव किनेर लगेको विषयमा नगरप्रमुख भण्डारीले त्यो सामान्य कुरा भएको बताउदै नक्सा पास किताव जो कोहि व्यक्तिले आफ्नो घर जग्गाको लागि लैजान सक्ने बताउनुभयो।

नक्सा पासको लागि कम्पनीले नगरपालिकाबाट ३६ वटा नक्सा पास किताव किनेर लगेको छ।

सिजि प्रोपर्टीज प्रालिले विभिन्न कम्पनीको नाममा यहा घरजग्गाको कारोबार गरिरहेको छ। यहाँ धेरै घर बनिसकेको भएपनि अहिले वडा कार्यालयमा एउटा घरको नक्शा पास गर्न निवेदन परेको छ। वडा कार्यालयमा नक्सा पासको लागि दिएको कागजातमा सुयोन्स होल्डीङ्ग प्रालिको पनि नाम छ।

एउटा घर निर्माणको लागि नक्शा पास गर्न निवेदन परेपछि वडा चारकिल्ला बारे जाचवुझ गर्न फिल्डमा जादाँ अन्य धेरै घरहरुको निर्माण भैसकेको, केहि घरहरु निर्माणको अन्तिम चरणमा रहेको पाइएको भन्दै प्राप्त निवेदन उपर के गर्ने भन्ने बारेमा नगरपालिकालाई सोधिएको थियो।

वडा अध्यक्ष सहकुलकुमार हुमागाईले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ– वैशाख २१ गते कित्ता नं ५९२ र ५९३ को चार आना एकपैशा क्षत्रफलमा घर निर्माणको लागि नक्सा पास गर्न एउटामात्र निवेदन आएको यस क्षेत्रमा जादाँ नक्शा पास अगावै ३०/४० वटा घर बनिसकेको देखिएकोले यस्तो अवस्थामा नक्शा पास प्रक्रिया अघि बढाउन गर्न मिल्ने वा नमिल्ने स्पष्ट कानुनी आधार एवं प्रक्रियाको बारेमा मार्ग निर्देशन गर्न अनुरोध छ।

स्थानिय बासिहरुको भनाई अनुसार यहाँ १ सय १७ रोपनी क्षेत्रफलमा २ सय २० वटा घर निर्माण हुदैछ सबै साढे दुई तल्ले एकैनासको घर निर्माण हुने बताइएको छ। उनिहरुको भनाई अनुसार अहिले ६० भन्दा बढी घरको जग हालिसकेको छ। २० वटा घरको गारो लगाउने काम सकिएको छ भने ९ वटा घरको प्लाष्टर समेत सकिएको छ। २०५८ सालमा जग्गा खरिद गरेको २०६५ सालमा जग्गामा तारबार लगाएको भन्दै स्थानीय बासिहरुले गत श्रावण देखि निर्माण कार्य शुरु गरिएको बताएका छन्।

पनौती नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तलेजु गुठीको नाममा रहेको कित्ता नं ५८४ को २ रोपनी ६ आना १ पैश २ दाम जग्गाको मोहिमा त्रिशक्ति सिमेन्ट प्रा.लि. नाम कायम गर्न पनि निवेदन परेको छ। यो जग्गा पनि सामुहिक आवास निर्माण भैरहेको क्षेत्रमा रहेको अनुमान गरिएको छ। यस बारेमा पनि वडा कार्यालयले बुझरहेको वडा अध्यक्ष हुमागाईले बताउनु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नक्सापास नगराई कसैले पनि घर निर्माण गर्न नपाइने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस