बनेपामा कर्मचारी अवकाश विवाद, उपमेयरले च्यातिन कर्मचारीको अवकाश पत्र

नौलो समाचार संवाददाता
२०७९ श्रावण २३, सोमबार मा प्रकाशित १७५६ पटक पढिएको
बनेपामा कर्मचारी अवकाश विवाद, उपमेयरले च्यातिन कर्मचारीको अवकाश पत्र

साउन २३, काभ्रे। बनेपा नगरपालिकामा कर्मचारी अवकाशको विषयले विवादको रुप लिएको छ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकामा कार्यरत केहि करारमा रहेका कर्मचारीलाई एकल निर्णयले अबकास पत्र थमाएपछी नगरपालिकाभित्र विवाद चर्किएको हो। नगर प्रमुखका स्वकीय सचिव, तत्कालिन उपप्रमुखका स्वकीय सचिव, कानुनी सल्लाहकार, प्रेस सल्लाहकारसहित ६ जनालाई अवकाश पत्र दिइएको थियो।

करारमा कार्यरत कर्मचारीलाई मेयर शाक्यले एकल निर्णयबाट हटाउन खोजेको भन्दै उपमेयर विमला सापकोटाले नगर प्रमुखको अगाडी अवकाश पत्र च्यातिदिनुभएको थियो। अवकाश पत्र सबैको अगाडी मेयरकै कार्यकक्षमा च्यातेको भिडियो सामाजिक संजालमा पनि पोस्ट गरिएको छ र धेरै पटक शेयर भएको छ।

अवकाश पत्र फिर्ता लिन आग्रह गर्दा नगर प्रमुख शाक्यले फिर्ता लिन नमानेपछि उपप्रमुख सापकोटाले आफुहरुलाइ उक्त निर्णय कदापि मान्य नहुने भन्दै ६ जनालाई नै दिन तयार पारिएको अवकाशपत्र च्यात्नु भएको थियो।

राजनीतिक अस्थाका आधारमा नभई कार्यपालिकाबाट निर्णय गरेर कर्मचारीको कार्यसम्पादन मुल्यांकनअनुसार उनीहरुको म्याद थपबारे निर्णय हुनुपर्ने आफूहरुको अडान रहेको उपप्रमुख बिमला सापकोटाको भनाई छ।

विवाद सुरु भएपछी नगर प्रमुख शाक्यले छिट्टै कार्यपालिकाको बैठक बोलाएर यसका विषयमा छलफल गर्ने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस