देशभर ६० जिल्लामा देखियो ‘डेंगु’, एक महिनामै ४ सय बिरामी

नौलो समाचार संवाददाता
२०७९ श्रावण २६, बिहिबार मा प्रकाशित ५९१ पटक पढिएको
देशभर ६० जिल्लामा देखियो ‘डेंगु’, एक महिनामै ४ सय बिरामी

साउन २६, काठमाडौं। बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् ६ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ। यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण गौतमले सोही अवधिमा ६० जिल्लामा डेंगुका केस भेटिएको बताउँनुहुन्छ।

यसै गरी राजधानीका तीन जिल्लामध्ये ललितपुरमा १३७, काठमाडौँमा ४७ वटा केस देखिएको छ। डा. गौतम भन्नुहुन्छ, ‘काठमाडौँमा यो वडा यो ठाउँका बिरामीलाई डेंगु भएको भन्ने आधार छैन। अस्पतालमा उपचार गराउन कहाँ कहाँबाट अस्पताल उपचार गराउन आइपुग्छन्, त्यसैको तथ्याङ्क हो।’

ललितपुर जिल्लामा पहिलो केस असार ९ गते देखिएको थियो । महालक्ष्मीस्थान, थसिखेल, खुमलटारका विभिन्न स्थानमा गरी १३७ जनामा डेंगु देखिएको हो।

अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो। अहिले भने सात महिनाको अवधिमा झण्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ ।

तराईदेखि हिमालसम्म लामखुट्टेको प्रकोप

जलवायु परिवर्तन भएसँगै डेंगुका बिरामी तराईबाट उक्लिएर पहाड र हिमालमा पनि देखिन थालेका छन्। गएको सात महिना यता तराई, पहाडसँगै हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, बैतडी लगायतका जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।

डा. गौतमका अनुसार किट्जन्य रोग पहिले तराईमा मात्रै देखिन्थ्यो। तर वातावरणीय प्रभावका कारण तराईमा देखिने किट्जन्य रोग पहाडी, हिमाली जिल्लामा पनि देखिन थालेका छन्। किराहरू आफ्ना आनीबानी परिवर्तन गरी हिमाल, पहाडका जिल्ला सर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस