बेलर इन्टरनेसनल एकेडेमीका विद्यार्थीहरुका लागि सिनियर डिभिजन एनसीसी तालिम

नौलो समाचार संवाददाता
२०७९ भाद्र १, बुधबार मा प्रकाशित ११२२ पटक पढिएको
बेलर इन्टरनेसनल एकेडेमीका विद्यार्थीहरुका लागि सिनियर  डिभिजन एनसीसी तालिम

भदौ १, काभ्रे। नेपाली सेनाको कालिजंग गण धुलिखेलले जिल्लाका बनेपामा रहेको बेलर इन्टरनेसनल एकेडेमी का विद्यार्थीहरुका लागि सिनियर  डिभिजन एनसीसी तालिम शुरुको तयारी गरेको छ ।

विद्यालय  अध्ययनरत कक्षा ११ र १२ का  १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थीहरुलाई सिनियर  डिभिजन एनसिसि तालिम शुरु गरिने विद्यालयकी प्रबन्ध निर्देशक इन्दु थापाले बताउनुभयो। विद्यालय जीवनदेखि नै बालबालिकाहरूलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमानदारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले बताउनुभयो।

राष्ट्रिय सेवा दल गठन गर्नु अघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल थापाले बेलर इन्टरनेसनल एकेडेमीमा अभिभावक, विद्यार्थी र शिक्षकहरूलाई राष्ट्रिय सेवा दलको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नुभएको छ। विद्यार्थीहरूलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागी भएकाहरूलाई बिहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले तालिमले अनुशासन र भातृत्व विकासमा मद्धत गर्ने बताउनुभयो।

तीन महिने तालिममा सहभागीहरूलाई सेनाले पोसाक लगायतका आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराउनेछ।

तालिम पश्चात् विद्यार्थीहरूलाई एल्मुनाई एसोसिएसन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो।

१ सय दिनको तालिममा ७९ दिन विद्यालयमै दिईनेछ भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रुपमा बर्दिबासमा हुनेछ। ‘तालिममा विद्यार्थीहरुलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, ईमान्दारिता र बफादारिताका बारेमा सिकाईने कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले बताउनुभयो।

सेनाले यो बर्ष बेलर, जनक मावि र सिद्धार्थ वनस्थली स्कुल पनौतीमा सिनियर डिभिजन र एसओएस, सामुदायिक मावि र अरुणोदय मावि पनौतीमा जुनियर डिभिजन एनसिसि तालिम सञ्चालन गर्दैछ।

प्रतिक्रिया दिनुहोस