पनौतीका किसानले पाए दुग्ध उत्पादनमा आधारीत अनुदान, पनौती-४ का रामशरण थापाले बेचे सबैभन्दा बढी दुध

नौलो समाचार संवाददाता
२०७९ भाद्र १३, सोमबार मा प्रकाशित १०६६ पटक पढिएको
पनौतीका किसानले पाए दुग्ध उत्पादनमा आधारीत अनुदान, पनौती-४ का रामशरण थापाले बेचे सबैभन्दा बढी दुध

भदौ १३, काभ्रे। पनौतीमा नगरमा दुध उत्पादन गर्ने किसानहरुले उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको छ।

पनौती नगरमा पहिलो पटक दुध उत्पादन गर्ने किसानहरुले उत्पादनमा आधारित अनुदान रकम प्राप्त गरेका हुन्। श्री खरिबोट दुग्ध उत्पादन सहकारी संस्था लि. मा दुध विक्रि गरेका किसानहरुले प्रति लिटर १ रुपैया ६३ पैशाको दरले अनुदान पाएका हुन्।

आज (सोमबार) आयोजित कार्यक्रममा बागमती प्रदेशका कृषि मन्त्री वसुन्धरा हुमागाईले किसानहरुलाई अनुदान रकम वितरण गर्नुभएको हो। अहिले यो सहकारीले दैनिक ९ सय लिटरसम्म दुध संकलन गरिरहेको छ।

यो अनुदान आर्थिक वर्ष २०७७/७८ को हो। २०७८/७९ को अनुदान पनि छिट्टै वितरण गरिने खरिबोट दुग्ध उत्पादन सहकारीका व्यवस्थापक एवं पुर्व वडा अध्यक्ष केशव वञ्जाराले जानकारी दिनु भएको छ।

वागमति प्रदेशका कृषि मन्त्री हुमागाईका अनुसार २०७८/७९ को लागि अनुदान रकम प्रति लिटर अहिलेको भन्दा दोब्बर भन्दा बढी वितरण गरिनेछ। लगातार ३ वर्ष अनुदान रकम वितरण गरिने कार्यविधि परिवर्तन गरि हरेक वर्ष किसानहरुलाई अनुदान दिने गरि कानुन निर्मााण भएको मन्त्री हुमागाईले बताउनु भएको छ। अब प्रतिलिटर ५ रुपैंया किसानलाई अनुदान दिने तयारी भैरहेको मन्त्री हुमागाईको भनाई थियो।

जिल्ला भेटेनरी अस्पतालका प्रमुख राजकुमार हुमागाईंका अनुसार पनौती नगरमा पहिलो पटक अनुदान प्राप्त गर्ने सहकारीमा खरिबोट परेको छ। पशुपन्छी पालनको सन्दर्भमा सबैभन्दा बढी खर्च आहारा (खाना) मा हुने भएकोले कम लागतमा पशुलाई पोषिलो खाना खुवाउने कुरामा किसानहरुले ध्यान दिनु पर्ने प्रमुख हुमागाई बताउनुहुन्छ।

कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारीले पशु पालनमा लागत घटाउने र उत्पादन बढाउने कुरामा किसानहरुले ध्यान दिनुपर्ने बताउनु भएको थियो। उहाले किसानहरु आधुनिकिकरण, व्यवसायीकरण र यान्त्रीकरण तर्फ लाग्नु पर्ने भन्दै नगरको नीति तथा कार्यक्रममा पनि यस कुरालाई प्राथमिकतामा राखेको बताउनु भएको छ। नगर प्रमुख भण्डारीले अहिले किसानहरुले आफ्नै खेतबारीमा उत्पादित आहाराबाट पौष्टिक तत्व बढाउने उपायमा ध्यान दिनु पर्ने सुझाव पनि दिनुभएको छ।

यस्तै, उपप्रमुख गिता वञ्जाराले पनौती नगरमा अधिकाशंको जिवनयापनको मुख्य स्रोत कृषि भएको उल्लेख गर्दै आगामी दिनमा अझ बढी अनुदान लिने हौसलाका साथ दुग्ध उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गर्नुभएको छ।

वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले किसानको हितमा काम गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताउदै दुग्धमा किसानले सस्तोमा विक्रि गर्नु पर्ने र उपभोक्ताले महङ्गोमा खरिद गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउनुभयो। विचौलियाले बढी कमिसन खाएको कारण यस्तो भएको उहाँकोआरोप थियो।

सबै भन्दा बढी अनुदान प्राप्त गर्ने किसानमा पनौती-४ का रामशरण थापा रहनु भएको छ। उहाँले २०७७/७८ मा ९ हजार ७ सय १३ लिटर दुग्ध विक्रि गर्नु भएको थियो। दोस्रो स्थानमा रामशरण तिमल्सिना पर्नुभएको छ। उहाँले ५ हजार ९५ लिटर दुध उत्पादन गर्नु भएको थियो। तेस्रोमा जुना तामाङले ४ हजार ३ सय ३० लिटर दुध उत्पादन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस