गैरकानूनी अफर ल्याएको भन्दै ‘सिजी नेट’लाई कारवाही गर्न पत्र

नौलो समाचार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार मा प्रकाशित ६४६ पटक पढिएको
गैरकानूनी अफर ल्याएको भन्दै ‘सिजी नेट’लाई कारवाही गर्न पत्र

भदौ १७, काठमाडौँ। इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले चौधरी समुहको सिजी नेटलाई कारवाही गर्न माग गरेको छ।

सिजी कम्युनिकेसन अन्तर्गतको सिजी नेटले गैरकानूनी र नियम विपरित इन्टरनेट अफर सार्वजनिक गरेको भन्दै बुधबार नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको हो ।

केहि दिन अघि सिजी नेटले आईपीटिभि सार्वजनिक गर्दै इन्टरनेट प्याकेज लिए सस्तो मूल्यमा टेलिभिजन समेत उपलब्ध गराउने अफर सार्वजनिक गरेको थियो ।

सिजीले ल्याएको ‘जोडी अफर’ नियम विपरित भएको भन्दै आईपानको बैठकले निष्कर्ष निकालेको हो ।

आईस्पानका एक अधिकारीले सिजी नेटले ल्याएको अफर नियम भन्दा विपरित रहेकाले कारवाहिका लागि माग गरेको बताए ।

‘सिजी नेटको इन्टरनेट र टिभीको बण्डलिङ सहितको प्याकेज नै कानुन विपरित छ’ ती अधिकारीले मेरो लगानीसँग भने ‘केही समय अघि अन्य इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई विदेश घुमाउने लगाएतका प्याकेज सार्वजनिक गर्दा प्राधिकरणले नै रोकेर कारवाही गरेको थियो’ ।

यसअघि पनि प्राधिकरणको जानकारी विना नै सीजी नेटले इन्टरनेटको प्याकेज सर्वजनिक गरेको थियो ।

गैरकानूनी गतिविधी गदै आए पनि नियामक निकाय दूरसञ्चार प्राधिकरण सिजी नेटका अगाडी निरीह बनेको आइस्पानको आरोप छ ।

सिजी नेटको अफरमा दशैं तिहार र फुटबल वर्ल्डकप लक्षित गदै सस्तो मूल्यमा इन्टरनेट, आईपीटीभी र स्मार्ट टीभी पाउने बताएको थियो ।

जस अनुसार २५ हजार ५०० मै ३२ इन्चको टीभी, इन्टरनेट र आईपीटीभी सेवा पाउने कम्पनीको दाबी थियो । त्यस्तै ३६ हजार ४३ इन्चको टीभी, आईपीटीभी र इन्टरनेट सुविधा घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस