असोज ३ गतेदेखि बनेपामा काभ्रे महोत्सव हुने, वृद्ध-वृद्धालाइ प्रवेश निःशुल्क

नौलो समाचार संवाददाता
२०७९ भाद्र २२, बुधबार मा प्रकाशित १०४८ पटक पढिएको
असोज ३ गतेदेखि बनेपामा काभ्रे महोत्सव हुने, वृद्ध-वृद्धालाइ प्रवेश निःशुल्क

भदौ २२, काभ्रे। बनेपामा काभ्रे महोत्सव हुने भएको छ।

काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा यहीँ असोज ३ गतेदेखि १५ गतेसम्म पाँचौँ काभ्रे महोत्सवको आयोजना गरिने भएको हो।

आज पत्रकार सम्मलेन गरी महोत्सव बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा सञ्चालन गरिने जानकारी गराइएको छ।

नेपालीहरुको महानपर्व दशै लक्षित गरी हुन् लागेको काभ्रे महोत्सवको मूल नारा “व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने रहेको छ।

महोत्सवमा परम्परागत कला सस्कृति, औद्योगीक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धन गर्ने मुख्य उद्देश्य रहेको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेँले जानकारी दिनुभयो। उहाँले महोत्सवका लागी आवश्यक प्रक्रिया सकिएसँगैै महोत्सव स्थलमा स्टल निर्माण लगायत अन्य कार्यको तयारी भइरहेको जानकारी दिनुभयो।

महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने छन्।

अध्यक्ष पसछेँले महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको स्टलहरु राखिने बताउनुभयो।

मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प, वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने आयोजकले जनाएको छ।

कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्लाभरि छरिएर रहेका उद्योग वाणिज्य संघमा दर्ता भएमा व्यवसायहरुलाई स्टल उपलब्ध गराउदा १५% छुटको व्यवस्था रहेको काभ्रे उद्योग वाणिज्य संघका महासचिव रबिन्द्र बैदारले बताउनुभयो। त्यसैगरी महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था हुने उहाँले बताउनुभयो।

विद्याथीहरुलाई ५० र अन्य सर्वसाधारणलाई १०० प्रवेश शुल्क निर्धारण गरिएको छ, भने वृद्ध-वृद्धाहरुको लागी निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस