“गणतन्त्रको त्रास”

- उत्तम विचार
२०७९ भाद्र २५, शनिबार मा प्रकाशित ४३४ पटक पढिएको
“गणतन्त्रको त्रास”

कान्तिपुरी विचरण गर्दैगर्दा इन्द्रले अप्सरासँग भन्नुभयो, रानी हेर त यो कान्तिपुरी कान्तिपुरी रहेन अब, अलकापुरी रहेन । उतिबेला राजाको विशेष निमन्त्रणा र न्यानो आथित्यतामा नगर विचरण गर्नुको मज्जा नै छुट्टै थियो ! अप्सराले सम्झाएजस्तो गर्दै भनिन् किन त्यस्तो दुखेसो गर्नु भएको देवराज! एउटा फ्याँकेर अहिले झन् सयौँ छोटे राजाहरू बनेका छन् त नेपालमा ! यत्तिकैमा स्वर्गपट्टीबाट नारा र जुलुसको आवाज आयो भनिँदै थियो, हामीलाई राजा चाहिँदैन गणतान्त्रिक स्वर्ग जिन्दावाद ! लौ बित्याँस भो अप्सरा भो हामी स्वर्ग फर्किहाल्नु पर्ने भयो, हेर त स्वर्गमा पनि मेरा विरुद्धमा नारा जूलूस गरेछन् !

इन्द्रलाई सम्झाउँदै अप्सरा थप्छिन् देवराज यो सब हजुरकै कमजोरी हो, हिजो यताका समाजसेवी भनौदाहरूले पाप हैन धर्म गरेका छन् भनेर मरेर जाँदा स्वर्गको ढोका खोलिदिनु भयो तिनैले आज उता यताका दलको साखा खोले छन् र हाम्रा विरुद्ध मोर्चावन्दी गर्दै छन् !
म केही सुन्दिन हिँड स्वर्ग फर्की हालौँ । इन्द्र भन्दै थिए म अन्तिम मल्ल राजा रणजित मल्ल बन्न चाहन्न, म मोहन शमशेर बन्न चाहन्न हो म अन्तिम राजा ज्ञानेन्द्र बन्न चाहान्न !

भित्र खोपीबाट यस्तो नाइँ नाइँ म चाहन्न भन्ने इन्कारोक्ती प्रतित्ध्वनी भएको सुनेपछि बाहिर तैनाथ द्वारपालहरूले के भो महाराज किन बर्वराउनु भएको ! के भो महारानी किन सन्चो भएन कि कसो ढोका खोली बक्सियोस् अहिले रातको भर्खर दुई बज्दैछ !

द्वारपालले ढोका खटखटाएर आवाज दिएको सुनेपछि अप्सराले ढोका खोल्दै भनिन् देवराजले नराम्रो सपना देख्नु भएछ ! सबले मनन गरे कि यो सब इन्द्र गत हप्ता नेपाल घुम्न गएको र त्यहाँ विध्यमान परिस्थितिजन्य असरले छोएको हुनुपर्छ ।
मध्यरातमै सम्पूर्ण भरदारहरूले नारा लगाए, हाम्रा राजा सबका साझा, हाम्रा इन्द्र हाम्रो स्वर्ग …
इन्द नारा सुनेरै निदाए, मानौँ नारा नै राज्यको मूलमन्त्र हो ।
अस्तु ।

– उत्तम विचार


प्रतिक्रिया दिनुहोस