पनौती चिनाउन साहित्यकार लाकोजूको अर्को प्रयास, प्रकाशन हुन लागेको पुस्तकका बारेमा कुराकानी !

नौलो समाचार संवाददाता
२०७९ भाद्र २८, मंगलबार मा प्रकाशित ७७१ पटक पढिएको

पनौती चिनाउन साहित्यकार लाकोजूको अर्को प्रयास, प्रकाशन हुन लागेको पुस्तकका बारेमा कुराकानी !

भदौ २७, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ।

पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। पनौतीबारे जानकारी लिन चाहनेहरूका लागि ‘पनौती’ नामक उपयोगी पुस्तक लेखिसकेका लाकोजूले पुनः पनौतीसम्बन्धी पुस्तक लेख्नुभएको हो।

पुस्तकका सर्जक लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्धा, भक्ति र प्रेमको प्रतीक रहेको बताउनुभएको छ। उहाँले पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, ऐतिहासिक नाच आदिबारे जानकारी दिइएको लेखक लाकोजूले बताउनुभएको छ।

प्रकाशित हुन लागेको ‘पनौतीका केही जात्रापर्वहरू’ पुस्तकका विषयमा सर्जक सूर्यप्रसाद लाकोजूसंग नौलो समाचार डटकमले गरेको संक्षिप्त कुराकानी :-

१. तपाईं ले पनौती सम्बन्धी फेरि अर्को पुस्तक निकाल्दै हुनुहुन्छ? के कस्ता विषय छन पुस्तकमा ?

गतवर्ष मेरो पनौती नामक पुस्तक प्रकाशनमा आयो । उक्त पुस्तक पनौतीको समग्र चिनारी दिने पुस्तक बनाउने प्रयास गरेका थियौँ । यो पनौतीका केही जात्रापर्वहरूमा यहाँ परम्परागत रूपमा मनाउँदै आएका जात्रा, पर्व, पनौती परिचय, इतिहास , मकुन्दो नाच लगायतका विषय रहेका छन । साथै पनौती पुस्तकले समेट्न नसकिएका कुराहरू यस पुस्तकमा समेट्ने जमर्को गरेको छु ।

२. पनौतीका बारेमा तपाईको कलम निरन्तर चलिरहेको छ? थकाईको अनुभूति हुँदैन?
आफू जन्मेको, खेलेको, हुर्केको आफ्नो जन्मथलोका लागि केही गर्न सकियो भने आफ्नो जन्म सफल भएको मान्छु म । तर अहिले पनि केही गर्न सकेँ जस्तो लागेको छैन मलाई । जन्मथलोले त हामीलाई सबथोक दिएको छ । हामीले चाहीँ जन्मभूमि लाई के दिन सक्यौँ त? यही कुरा मनमा राखेर काम गर्ने गरेको छु । मनैदेखि कुनै काम गर्न मन लागेपछि थकाइ लाग्ने कुरै भएन । फेरि खोज कार्यको अन्तिम बिन्दू हुँदैन । यो त निरन्तर चलिरहने प्रकृया हो।

३. प्रकाशोन्मुख कृतिको विशेषता चाहिँ के छ?
कुनै पनि ठाउँको परिचय त्यस स्थानको भाषा , संस्कृति , कला आदिले बोकेका हुन्छन । भाषा , संस्कृति , जात्रा, पर्व सकियो भने हाम्रो चिनारी पनि सकिन्छ । यही कुरा नयाँ पुस्तालाई बुझाउनु छ । अर्को कुरा यस पुस्तकमा जात्रापर्वका बारेमा विवरण मात्र छैनन, त्यसलाई वैज्ञानिक र व्यवहारिक ढङ्गले विश्लेषण पनि गर्ने प्रयास गरेको छु । चाडबाड मान्नुको पछाडिको कारण खुलाउने प्रयास गरेको छु ।

४. तपाईंको यो पुस्तकले पनौतीलाई सांस्कृतिक रूपले अझ उजागर गर्नेछ भन्ने तपाईं को बुझाइ हो?

सर्वप्रथम त यो पुस्तक मेरो मात्र होइन । यो सबै पनौतीबासीको हो । मैले त यहीँ भएको कुरालाई शब्दमा रुपान्तरण गरेको मात्र हुँ । पुस्तकमा जे छन ती सबै यहीँकै माटोको देन हो ।

५. तपाई आफै पुस्तक लेख्नु हुन्छ । आफै प्रकाशन गर्नु हुन्छ । प्रकाशनका लागि आर्थिक रूपमा कठिनाइ भएन?
मानिसलाई पैसा कति भएपछि पुग्छ? धनप्रेमको कुनै सीमा हुँदैन । फेरि हामी जस्तो सचेत नागरिकले असल कर्म गर्न पैसाकै कारण रोकिनु हुन्न । भगवान्ले पनि आफूले आँट नगरेसम्म पुर्‍याउनु हुन्न । त्यसैले मानिसभित्रको आत्मबल ठूलो कुरा हो ।

६. तपाईलाई पैसाकै कारणले पुस्तक निकाल्न अप्ठयारो भएन त?

अप्ठयारो, संकट मान्छेलाई नै पर्ने हो । मलाई पनि पर्नु स्वाभाविक नै हो । मैले पनौतीको पहिलो पुस्तक लेखेको पनि कारण छ । त्यो पुस्तक तयार भएपछि पुस्तक छपाउन मसँग पैसा भएन । आफूसँग भएको पैसामा अपुग रकम सापटी लिएर पनौती पुस्तक प्रकाशन गरेको थिएँ । त्यो स्मरण अहिले पनि ताजै छ । तर अहिले पुस्तक निकाल्नकै लागि कठिन परिस्थिति छैन । साहित्यिक पुस्तक त प्रकाशन गर्नका लागि दुख छैन । थुप्रै प्रकाशन गृहका साथीहरूको सद्भाव पाइरहेको छु ।


प्रतिक्रिया दिनुहोस