विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै पस्थलीको बाल आदर्श आधारभूत विद्यालयले मनायो ‘बाल दिवस’

नौलो समाचार संवाददाता
२०७९ भाद्र २९, बुधबार मा प्रकाशित ८४३ पटक पढिएको
विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै पस्थलीको बाल आदर्श आधारभूत विद्यालयले मनायो ‘बाल दिवस’

भदौ २९, काभ्रे। आज ५८ औं राष्ट्रिय बाल दिवस देशभर मनाईएको छ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित काभ्रे पनौती-१० पस्थलीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरी मनाईएको छ।

पस्थली रहेको बाल आदर्श आधारभूत विद्यालयका १५ जना गरीव तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्तिको रुपमा ट्रयाकसुट सेट, जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

सिविन नेपाल बालिका गृहको सहयोगमा तथा पनौती नगरपालिका वडा नम्बर-१० कार्यालयको समन्वयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुवास खड्काले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिविन नेपाल बालिका गृह पस्थलीका प्रमुख भगवती श्रेष्ठले बाल अधिकारको संरक्षण तथा बालमैत्री समाज निर्माणमा विद्यालयको भूमिका अहम रहने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर-१० का वडा सदस्य सरिता नेपाल अधिकारीले स्थानिय सरकारको पहलमा बालमैत्री समाज निर्माणको अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै,  बाल आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक सुवास खड्काले वडा नम्बर १० का जनप्रतिनिधि तथा बालमैत्री सहजकर्ता मिरा गिरीले बालमैत्री वडा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले बालदिवस साँच्चै नै बालबालिकाको हितमा कार्यहरु गरेर मात्र सफल हुने बताउदै एकदिन दिवस मात्र होइन हरेक दिन काम गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रम प्रधानाध्यापक सुवास खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस