काभ्रेमा सामुदायिक र युवा साकोस बीच ‘बिग मर्जर’, अब कुल पूँजी ४ अर्ब २२ करोड तथा शेयर पूँजी ३८ करोड पुग्ने

नौलो समाचार संवाददाता
२०७९ भाद्र ३०, बिहिबार मा प्रकाशित १४२५ पटक पढिएको

काभ्रेमा सामुदायिक र युवा साकोस बीच ‘बिग मर्जर’, अब कुल पूँजी ४ अर्ब २२ करोड तथा शेयर पूँजी ३८ करोड पुग्ने

भदौ २९, काभ्रे। काभ्रेमा रहेका दुई ठूला सहकारी संस्थाबीच एकीकरण भएको छ।

काभ्रेमै पहिलो बिग मर्जरको रुपमा पनौती नगरपालिका वडा नं. ४, मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा ७, मा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण सम्झौता भएको हो।

बुधबार दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए।

सामुदायिक साकोसको मुख्य कार्यालय पनौतीमा भएको एकीकरण सम्झौता भएको हो।

२०५१ साल माघ १४ गते स्थापना भएको सामुदायिकले यस अघि नै ९ वटा सहकारी संस्था एकीकरण गरिसकेको छ। काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको छ।

त्यस्तै २०५३ साल भाद्र १५ गते स्थापना भएको युवा साकोसमा ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको छ।

स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन्। सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो।

मर्जर पछी एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी ३८ करोड पुग्नेछ। लगानीमा रहेको ऋण ३ खर्ब ३३ करोड हुनेछ। बचत निक्षेप २ अर्ब ७० करोड हुनेछ। जगेडा कोष ३० करोड र अन्य कोषहरु २१ करोड गरी जम्मा कोष ५१ करोडको हुने संस्थाले जनाएको छ।

कार्यक्रममा सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरस पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको आवश्यकता रहेको बताउनुभयो।
एकीकरणको ढोका खुला नै राखेको र अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको उहाँको भनाई छ। अहिलेको एकीकरणले काभ्रेमा विग मर्जरको थालनी भएको समेत उहाँले बताउनुभयो।

त्यसैगरी, संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा साकोसका अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज नभएको बताउँदै ठूलो र बलियो भन्ने अवधारणालाई अंगिकार गर्न जरुरी रहको बताउनुभयो। त्यसैको नतिजा स्वरुप दुई संस्थाहरु एकीकरणको सम्झौता गर्न सफल भएको उहाँले बताउनुभयो।

दुबै संस्थाको आगामी साधारण साभामा एकीकरणको प्रस्ताव पारित भए पश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ।


प्रतिक्रिया दिनुहोस