बनेपामा आजबाट ‘काभ्रे महोत्सव’ सुरु, बृद्धबृद्धालाई प्रवेश निःशुल्क

नौलो समाचार संवाददाता
२०७९ आश्विन ३, सोमबार मा प्रकाशित ७५० पटक पढिएको

बनेपामा आजबाट ‘काभ्रे महोत्सव’ सुरु, बृद्धबृद्धालाई प्रवेश निःशुल्क

असोज ३, काभ्रे। आजबाट बनेपामा ‘काभ्रे महोत्सव’ सुरु भएको छ।

दशैको पुर्वसन्ध्यामा काभ्रेको व्यापारिक शहर बनेपाको उग्रेश्वर मन्दिर छेउमा काभ्रे महोत्सव सुरु भएको हो।

‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने नाराका साथ सुरु भएको हो।

महोत्सवको उदघाटन बागमती प्रदेश सरकारको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले गर्नुभएको हो।

महोत्सव सुरु गर्नु अघि बनेपामा विभिन्न जात जातिको सांस्कृतिक झाँकी निकालिएको थियो। महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, समन्वयय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, पनौती नगरपपालिकाका मेयर रामशरण भण्डारी लगायत सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघका पदाधिकारी र नागरिक संघका प्रतिनिधिहरुको सहभागिता थियो।

अर्थतन्त्र उकास्नका लागी स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्यून शुल्क लिएर जिल्ला भरि छरिएर रहेका ब्यवसायीहरुलाई महोत्सवमा समेट्ने प्रयास गरिएको छ।

महोत्सव असोज १५ गतेसम्म चल्ने महोत्सवमा १ सय भन्दा धेरै स्टल रहेका छन्।

नेपालीहरूको महापर्व दशैको पावन अवसरमा आयोजित काभ्रे महोत्सवमा परम्परागत कला संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि,पर्यटन प्रवर्द्धनको निमित्त आयोजना गरिएको अध्यक्ष राजेन्द्र पसक्षेले बताउनुभयो।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरू, खाद्यान्न, अटोमोबाईल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू, कृषि औजारका सामाग्रीहरूको स्टलहरू छन्। महोत्सवमा बिक्री हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था गरिएको महासचिव रवीन्द्र बैदारले बताउनुभयो।

मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प, वाटर बल्ब, मिकि माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्य व्यङ्ग तथा गीत गायनको प्रस्तुति प्रत्येक दिन रहनेछ।

उद्योग वाणिज्य संघ काभ्रेले आयोजना गरेको महोत्सवमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। १ सय रुपैयाँको टिकट काटेर महोत्सवस्थलमा प्रवेश गर्न पाइने ब्यवस्था मिलाइएको छ।

विद्यार्थीलाई टिकटमा ५० प्रतिशत र बृद्धबृद्धा प्रवेश निःशुल्क रहेको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसंछेले जानकारी दिनुभयो। महोत्सवमा करिब १ करोड बराबरको आर्थिक करोबार हुने आयोजकले अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस