पनौतीमा संस्कृतिविद ‘ज्ञानकाजी मानन्धर’ नामक पुस्तक लोकापर्ण

नौलो समाचार संवाददाता
२०७९ आश्विन ८, शनिबार मा प्रकाशित ७१० पटक पढिएको

पनौतीमा संस्कृतिविद ‘ज्ञानकाजी मानन्धर’ नामक पुस्तक लोकापर्ण

असोज ८, काभ्रे। संस्कृति, शिक्षा र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर नामक पुस्तकको लोकापर्ण गरिएको छ।

पनौतीमा आयोजित एक समारोहकाबीच  नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषा गरी तीन ओटा भाषामा साहित्य सिर्जना गरेर भाषा र साहित्यको विकासमा उल्लेखनीय भूमिका खेल्दै आउनुभएका ज्ञानकाजी मानन्धरको बारेमा पुस्तक लोकापर्ण गरिएको हो।

सर्जक ज्ञानकाजी मानन्धरले नेपाली संस्कृति, परम्परा, इतिहास आदिका क्षेत्रमा कलम चलाएर ती क्षेत्रमा गर्नुभएको अतुलनीय योगदान र उहाँको व्यक्तित्वको बारेमा पुस्तकमा उल्लेख गरिएको छ।

शिक्षाक्षेत्रमा समेत उल्लेखनीय अक्षरकर्म गर्दै आउनुभएका उहाँका अक्षरकर्मलाई अक्षरबद्ध गर्दै भावी पुस्तालाई समेत प्रेरणा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको विचार कार्यक्रममा पुस्तकका सम्पादक सूर्य लाकोजूले बताउनुभएको छ।

कार्यक्रममा पुस्तकका नायक ज्ञानकाजी मानन्धरले सूर्यको प्रकाश आफ्नै लागि होइन, अरुका लागि भएको बताउंदै त्यसैले अरुका लागि काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

सोही कार्यक्रममा साहित्यकार मोहन दुवालले ज्ञानकाजी मानन्धरको व्यक्तित्वका बारेमा प्रकाश पार्दै असल कर्म गरेको व्यक्तिको रुपमा स्मरण गर्नुभएको छ। डा. श्याम भट्टराईले पुस्तकका बारेमा समिक्षात्मक टिप्पणी गर्दै पुस्तक पठनीय रहेको र ज्ञानकाजी मानन्धरका बारेमा जानकारी प्रदान गर्ने खालको पुस्तक बनेको विचार व्यक्त गर्नुभयो।

त्यस्तै कार्यक्रममा आरके मानन्धरले असल व्यक्ति भएकै कारण ज्ञानकाजी मानन्धरका बारेमा यस प्रकारको पुस्तक प्रकाशन भएको विचार व्यक्त गर्नुभयो। राजनैतिक चिन्तक तथा सामाजसेवी मधु आचार्यले पुस्तक प्रकाशनका लागि अक्षरमार्गले सही पात्र चयन गरेको विचार व्यक्त गर्नुभयो।

ज्ञानकाजी मानन्धरकी नातिनी श्रीया मानन्धरले संचालन गरेको कार्यक्रमका सभापति अक्षरमार्गका सम्पादक तथा साहित्यकार सूर्य लाकोजू रहनुभएको थियो।

अक्षरमार्गले प्रकाशन गरेको सो पुस्तकका सम्पादक सूर्य लाकोजू रहनुभएको छ। आवरण कला श्रीया मानन्धरको रहेको छ। पुस्तक विविध आठ खण्डमा विभक्त रहेको छ।


प्रतिक्रिया दिनुहोस