पनौतीमा मनाईयो विश्व रेविज दिवस, असोज १४ सम्म कुकुरलाई रेविज विरुद्ध नि:शुल्क खोप

नौलो समाचार संवाददाता
२०७९ आश्विन १२, बुधबार मा प्रकाशित ५६२ पटक पढिएको
पनौतीमा मनाईयो विश्व रेविज दिवस, असोज १४ सम्म कुकुरलाई रेविज विरुद्ध नि:शुल्क खोप

असोज १२, काभ्रे। पनौती नगरपालिकाले विश्व रेविज दिवस मनाएको छ।

‘एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराकासाथ यो वर्ष पनि रेविज दिवस मनाइएको हो। पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे र रोटरी क्लब अफ पनौतीको संयुक्त आयोजनामा दिवस मनाईएको हो।

पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तमराज शेडाई, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाईं, पनौती नगरपालिकाका उप-प्रमुख गीता बन्जारा, रोटरी क्लब अफ पनौती अध्यक्ष मधुसुदन गुरागाईं, वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटा, वडा नमबर ४ का अध्यक्ष दिपकप्रसाद दाहाल, वडा नं-६ का अध्यक्ष भिमप्रसाद आचार्य, नेपाल एनिमल वेल फेयर सेन्टर बनेपाका प्रमुख आनन्द दाहाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाका प्रमुख तथा पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले हिजो असोज ११ गतेबाट १४ गतेसम्म नि:शुल्क रेविज विरुद्धको खोप लगाउने कार्य भैरहेको जानकारी दिदै नगरपालिका क्षेत्र भरी २२ वटा खोप केन्द्र बनाई कुकुरहरुलाई लगाउने काम भैरहेकोले आफ्ना कुकुरहरुलाई खोप लगाउन स्थानीय नागरिकलाई आग्रह गर्नुभयो।

उहाँले छाडा सामुदायिक कुकुरहरुलाई मार्ने जस्तो अमानवीय कार्य नगरी उनीहरुको स्थायी बन्ध्याकरण गर्ने र रेविज विरुद्दको भ्याक्सिन दिने नै सबैभन्दा राम्रो व्यवस्थापन भएको र पनौती नगरपालिकाले त्यो काम गरिरहेको बताउनुभयो।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफ्नो समाज र आफन्तलाई रेविजबाट जोगाउन आफ्ना घरपालुवा जनावरहरुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो। घरमा पालेको भैसी समेत रेविजका कारण मरेको उदाहरण दिदै उहाँले छाडा सामुदायिक कुकुर, घरपालुवा कुकुरलाई भ्याक्सिन दिने तथा व्यवस्थापन गर्ने कार्यमा पनौती नगरपालिका आगाडी रहेको बताउनुभयो।

पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले जिल्ला स्वास्थ्य कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, रोटरी क्लब अफ पनौतीले रेविज विरुद्दको अभियानमा संगसंगै हातेमालो गर्न पनौतीलाई छानी सक्रियता देखाउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। नगरवासीलाई रेविजको आतंकबाट बचाउन र ती निर्दोष पशुहरुको जीवन पनि जोगाउनु पर्ने भएकोले त्यसको एउटा मात्र उपाय भ्याक्सिन रहेको बताउदै आफ्ना कुकुरहरुलाई भ्याक्सिन लगाउन आग्रह गर्दै अन्य छाडा कुकुरहरुलाई नगरपालिकाले भ्याक्सिनलगायतका व्यवस्थापन गर्ने बताउनुभयो।

यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाईंले काभ्रेमा पनि रेविजका कारण केहि व्यक्ति र पशुपन्छीको मृत्यु भएको बताउंदै यो नियन्त्रण गर्नको लागि सबै तह र तप्काका पशु स्वास्थ्य केन्द्र तथा प्राविधिकहरुले गभिर भएर लाग्नुपर्ने बेला आईसकेको बताउनुभयो। काभ्रेका विभिन्न ठाउँमा रेविज लक्षण नभएका कुकुरमा परिक्षण गर्दा पनि रेविज देखिएको जानकारी दिदै उहाँले सन् २०३० सम्म विश्वबाट रेविज शुन्य बनाउन स्कुल तहदेखि नै बालबालिकाहरुलाई शिक्षाकै रुपमा जानकारी गराउदा अझै प्रभावकारी हुने बताउनुभयो।

रोटरी क्लब अफ पनौती अध्यक्ष मधुसुदन गुरागाईंले स्थानीय तह, प्रदेश तथा जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा रेविज विरुद्ध जनचेतना जगाउने र कुकुरहरुलाई लगाउने कार्यमा रोटरी क्लब पनि लागि परेको बताउनुभयो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका डाक्टर नितेश कार्की, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम शेडाईले रेविज रोगको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सुचनाको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

उहाँहरुले नेपालमा एक वर्षमा सरदार १०० जनाको रेविजका कारण मृत्यु हुने तथ्यांक प्रस्तुत गर्दै कुकुर, चमेरो, विरालोजस्ता शंकास्पद जनावरको टोकाइ तथा र्यालको सम्पर्क भएको खण्डमा यथाशिघ्र भ्याक्सिन लगाउने जानकारी गराउनुभयो। साथै शंकास्पद जनावरको टोकाइ तथा र्यालको सम्पर्क भएको खण्डमा बेलैमा स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क राख्नुपर्ने बताउनु भयो। पनौतीको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज बिरुद्धको खोप दिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस