निर्वाचन प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द, आज रातिबाट मुलुकका सबै नाका बन्द

नौलो समाचार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार मा प्रकाशित ७६२ पटक पढिएको
निर्वाचन प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द, आज रातिबाट मुलुकका सबै नाका बन्द

कात्तिक ३०, काठमाडौं। कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ। मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ।

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि अर्थात् मङ्सिर १ गते मध्यराति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ ।

आयोगले बिहीबार मध्यरातिपछिको अवधिलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ । तर, विगतमा यसलाई मौन अवधि भनिन्थ्यो ।

निर्वाचन आचारसंहिता अनुगमन समितिका केन्द्रीय संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले १७ दिन प्रचारप्रसारका लागि समय दिएकाले त्यसपछि स्थिर समय लाग्ने र यसमा कुनै कानुनले तोकेको भन्दा अन्य गतिविधि गर्न नपाइने बताउनुभएको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

त्यस्तै, निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातिदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोष्ट, सेयर गर्न पाइने छैन ।

मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री पनि हटाउनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

यसैगरी, निर्वाचन सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि अर्थात् आज बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाका १६५ सिटमा दुई हजार ४१२ र सातै प्रदेशका ३३० सिटका लागि तीन हजार २२३ उम्मेदवार छन्  ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । मतदानका लागि आयोगले १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकेको छ  । निर्वाचनका लागि दुई लाख ४७ हजार कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस