काभ्रेमा मतदान शान्तिपूर्ण, उम्मेदवारदेखि किरियापुत्रीहरुसम्म मतदानमा सक्रिय सहभागी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ४, आईतबार मा प्रकाशित ११६४ पटक पढिएको
काभ्रेमा मतदान शान्तिपूर्ण, उम्मेदवारदेखि किरियापुत्रीहरुसम्म मतदानमा सक्रिय सहभागी

मंसिर ४, काभ्रे। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतदान काभ्रेका सबै ठाउँमा शान्तिपूर्ण रुपमा संचालन भैरहेको छ।

बिहानैदेखि विभिन्न ठाउँका मतदान केन्द्रहरुमा मतदाताहरु उत्साहपूर्ण रुपमा सहभागी भैरहेका छन्।

काभ्रेका विभिन्न क्षेत्रका उम्मेदारहरुले पनि मतदान गरेका छन्।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ का उम्मेदवार शिवप्रसाद हुमागाईंले मतदान गर्नुभएको छ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुमागाईले पनौती नगरपालिका वडा नम्बर-९ सुन्थानस्थित शारदा माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।

यस्तै, एमाले उम्मेदवार गोकुल बास्कोटाले पनि मतदान गर्नु भएको छ। उहाँले मण्डनदेउपुरको महाकाली मावि चैनपुरस्थित मतदान केन्द्रबाट मतदानमा सहभागी हुनुभएको हो। बास्कोटा काभ्रे-२ को उम्मेदवार हुनुहुन्छ।

यसैगरी,  काभ्रे प्रतिनिधिसभा-१ का लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुर्यमान दाेङ लालध्वजले तेमाल-९ स्थित मैनाजाङ केन्द्रबाट मतदान गर्नुभएकाे छ।

यस्तै, काभ्रे-२, प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्सालले मतदान गर्नुभएको छ। उहाँले मण्डनदेउपुर नगरपालिका वडा नम्बर-७ स्थित  महादेवस्थान मतदान केन्द्रमा मतदान गर्नु भएको हो। उम्मेदवार लम्साल लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ।

काभ्रे क्षेत्र नम्बर-२ का (२) का एमाले उम्मेदवार कुमार थापाले पनि मतदान गर्नुभएको छ।

मतदानमा किरियापुत्रीहरु पनि

मतदानमा किरियापुत्रीहरु पनि सक्रिय रुपमा सहभागी भएका छन्। मण्डनदेउपुर नगरपालिका-८ को भवानी मतदान केन्द्रबाट २ जना किरियापुत्रीहरुले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

यस्तै, बेथानचोक गाउँपालिका-२ स्थित पार्बती मतदान केन्द्रमा किरियापुत्रीहरुले मतदान गरेका छन्।


प्रतिक्रिया दिनुहोस