बुथ कब्जा भएपछी दोलखामा १५ गते फेरी चुनाव हुदै

नौलो समाचार संवाददाता
२०७९ मंसिर १२, सोमबार मा प्रकाशित ११०८ पटक पढिएको
बुथ कब्जा भएपछी दोलखामा १५ गते फेरी चुनाव हुदै

मंसिर १२, दोलखा। दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निश्कर्षसहित पुनः मतदान गराउन निर्देशन दिएको थियो ।

आयोगले मंसिर १५ गते भित्र चुनाव गराउन भनेपछि १५ गते नै चुनाव हुने गरी निर्वाचन आयोगले मिति तोकेको हो ।

दोलखाका विभिन्न मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले दोलखाले मत गणना हुन दिएको थिएन । त्यसपछि निवार्चन आयोगको टोली पठाएर स्थलगत अध्ययन गर्न लगाएको थियो ।

निर्वाचन आयोगले खटाएको टोलीले स्थलगत अध्ययनपछि गरेको सिफारिसका आधारमा बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका थिए ।

अध्ययन टोलीको सिफारिसको आधारमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आयोगको बैठकमा दोलखाका १० मतदान केन्द्रमा पुनः चुनाव हुनुपर्ने प्रस्ताव पेश गरेका थिए ।

अब वैतेश्वर गाउँपालिका वडा नम्बर ६ बैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्र क, ख र गमा फेरि चुनाव हुने भएको छ ।

त्यसैगरी, वडा नम्बर २ जनज्योती माविका दुई मतदान केन्द्र र तामाकोशी गाउँपालिका–३ को जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा फेरि चुनाव हुने भएको छ ।

बैतेश्वर गाउँपालिकाकै कालिढुंगा माध्यामिक विद्यालयको क, ख र ग मतदान केन्द्रमा फेरि मतदान हुने निर्णय निर्वाचन आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस