केही मुक्तक

सूर्यप्रसाद लाकोजू
२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ३२१ पटक पढिएको
केही मुक्तक

मेरो आँखामा रङ्गिन संसार बसायौ
मनभित्र मायाको भाव पनि पसायौ
देखाएको मात्रै हेर्ने सोझो मलाई
मीठा मीठा कुरा गरी फसायौ ।

श्यामश्वेतको होइन जमाना रङ्गिनको आयो
रङ्गिविरङ्गि यो जगतले रङ्गहिन सबै खायो
मैले त आफ्नो इमान पनि सकिन देखाउन
मानिसका सुन्दर लाग्ने झूट संसारभरि छायो ।

कति जल्छौ जल्नुको पनि सीमा हुन्छ
कति छल्छौ छल्नुको पनि सीमा हुन्छ
षडयन्त्रको तानाबाना बुन्दै सधैं
कति चल्छौ चल्नुको पनि सीमा हुन्छ ।

जहिल्यै स्वार्थको कनिका छर्दै हिंड्छौ
आफ्नै मात्र झोली सदैव भर्दै हिंड्छौ
घरभित्रको देउटालाई बृद्धाश्रम पठाएर
ढुङ्गोको देउतालाई पूजा गर्दै हिड्छौ ।

 

जहिले पनि आफ्नै मात्र स्वार्थको घडा भर्‍यौ
आफ्नो स्वार्थ पूरा गर्न हामीलाई सधैँ प्रयोग गर्‍यौ
निर्दोष हाम्रोमन लाई मतलबको पिँजडामा कैद गर्न मुस्कुराउँदै जताततै गुलियो विष तिमीले छर्‍यौ ।

 

-सूर्यप्रसाद लाकोजू, पनौती

प्रतिक्रिया दिनुहोस