नमोबुद्ध नगरका सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण

अशोक महत
२०७९ मंसिर २४, शनिबार मा प्रकाशित ३८२ पटक पढिएको
नमोबुद्ध नगरका सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण

मंसिर २४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो।

उहाँका अनुसार, वडा नं २, ३, ४, ५, ६ र ७ लाई ३ समूहमा नगरपालिकामा नै, वडा नं १ र ११ लाई कपरढुंगामा र वडा नं ८, ९ र १० लाई छत्रेबाँझमा १ दिने अभिमुखिकरण गरिएको हो। मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैंगिकता, महिला अधिकार, शसक्तिकरण लगायतका बिषयबस्तुमा अभिमुखिकरण गर्नुभएको थियो।

शनिवार वडा नं ९ को कार्यालयमा समापन गरियो। समापनमा नगर प्रमुख कुन्साङ लामाले नगरमा लैंगिक हिंसा नहोस् भन्नको लागि आफू सचेत भएको भन्दै बर्षभरी नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।  हिंसा गर्नेलाई सार्वजनिक सेवा, सुविधा नदिने भन्दै उनले कोही हिंसामा परिहाले निशुल्क कानूनी सहायता दिने प्रतिवद्धता जनाउनुभयो। महिलाहरुको आर्थिक शसक्तिकरणको लागि आयमुलक र सिपमुलक कार्यक्रम सञ्चालन गर्ने बताउदै नगर प्रमुख लामाले महिला विकासको क्षेत्रमा बजेट दोब्बर बनाउने बताउनुभयो। जीवनमा विभिन्न खाले समस्या आउन सक्ने भन्दै उनले आत्मबल दह्रो बनाएर संघर्ष गर्न सक्नुपर्ने बताउनुभयो।

नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता अभिमुखिकरण महिला शसक्तिकरण र आत्महत्या नियन्त्रणको लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरले विभिन्न सिप तथा आयमुलक तालिम सञ्चालन गर्ने भन्दै सहभागिताको लागि अनुरोध गर्नुभयो।

पूर्व उपप्रमुख रामदेवी तामाङले शिक्षा, स्वास्थ्यका साथै आर्थिक रुपमा शसक्तिकरण भए मात्रै महिला शसक्तिकरण हुने तर्क गर्नुभयो।

नगर प्रवक्ता समेत रहनुभएका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले राजनीतिमा शसक्त प्रतिनिधित्वको लागि महिलाहरुलाई अनुरोध गर्नुभयो।

सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ९ का अध्यक्ष विरबहादुर लामाले अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई गाउँ टोलमा सचेतना दिन अनुरोध गर्नुभयो।


प्रतिक्रिया दिनुहोस