काभ्रेली साहित्यिक पत्रिका ‘अक्षरमार्ग’ ले ७ जना साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै

नौलो समाचार संवाददाता
२०७९ मंसिर २९, बिहिबार मा प्रकाशित १३८५ पटक पढिएको
काभ्रेली साहित्यिक पत्रिका ‘अक्षरमार्ग’ ले ७ जना साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै

मंसिर २९, काभ्रे। काभ्रेबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘अक्षरमार्ग’ ले सात जना साहित्यिक मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।

अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाली वाङमयका साधकहरूलाई सम्मान समर्पण गर्ने भएको हो।

अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको कार्यक्रम २०७९ पौषको २ गते मनाउदै छ।

सो समारोहमा अक्षरमार्गले हरेक वर्ष प्रदान गर्दै आएको विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान यो वर्ष मूर्धन्य विद्वान् वरिष्ठ संस्कृतिविद, साहित्यकार तथा इतिहासका मर्मज्ञ हरेराम जोशीलाई प्रदान गर्ने निर्णय भएको छ। अभिनव संस्कृति कोशका लागि मदन पुरस्कार २०५८ प्राप्त गर्नुभएका जोशीज्यूलाई सम्मान गर्न लागिएको हो। यो सम्मान साहित्यकार तथा अक्षरमार्गका सम्पादक श्री सूर्यप्रसाद लाकोजूले आफ्ना मातापिता विष्णुप्रसाद लाकोजू तथा हेममाया लाकोजूको स्मृतिमा स्थापना गर्नुभएको हो।

त्यस्तै अक्षरमार्गले हरेक वर्ष प्रदान गर्दै आएको श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान यो वर्ष मूर्धन्य विद्वान् वरिष्ठ साहित्यकार तथा समालोचनाका मर्मज्ञ आदरणीय प्रा डा लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय भएको छ। यो सम्मान साहित्यकार तथा समाजसेवी श्रीराम कर्माचार्यज्यूको स्मृतिमा जगतमाया कर्माचार्यज्यूले स्थापना गर्नुभएको हो।

इतिहासका मूर्धन्य विद्वान् सांस्कृतिक निवन्धशिल्पी, अनुसन्धाता आदरणीय प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ्लाई यो वर्षको अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गर्ने निर्णय भएको छ। यो सम्मान समाजसेवी प्रह्लाद के.सीले आफ्ना पिता नरबहादुर के.सी को स्मृतिमा स्थापना गर्नु भएको हो। साथै नरेशबीर शाक्य साहित्यिक पत्रकारिता क्षेत्रका उदाहरणीय व्यक्तित्व हुनुहुन्छ। आफ्नै प्रयासमा उहाँले इलोह, लायकु, पेज थ्री, न: ली , लुँ आख लगायतका पत्रिकाहरू निरन्तर रूपमा चलाइरहनु भएको छ। साहित्यिक पत्रिका चलाउनु सजिलो कर्म होइन। उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्छ।

यस्तै, साहित्यिक पत्रकारिताका यस्ता मूर्धन्य व्यक्तित्वलाई यो वर्षको कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान समर्पण गर्ने निर्णय भएको छ। यो सम्मान अक्षरमार्गका सह-सम्पादक ध्रुबकृष्ण ताम्राकारले आफ्ना पिता कृष्णराज तथा माता सुनमाया ताम्राकारको स्मृतिमा स्थापना गर्नुभएको हो।

प्राध्यापक डा. गार्गी शर्मा नेपाली भाषा, साहित्य, बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गर्दै आउनुभएका मूर्धन्य स्रष्टा हुनुहुन्छ। उहाँलाई यो वर्ष कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान समर्पण गर्ने निर्णय भएको छ। यो सम्मान समाजसेवी राजेशकुमार श्रेष्ठ ज्यूले आफ्ना पिता कृष्णदास श्रेष्ठको स्मृतिमा स्थापना गर्नुभएको हो।

त्यस्तै कविता, गीत, नियात्रा लगायतका साहित्यिक विधामा सिर्जना पोख्दै, विभिन्न साहित्यिक संस्थाहरूमा सकृय रहँदै नेपाली भाषा र साहित्यको श्रीबृद्दिमा उल्लेखनीय योगदन गर्दै आउनुभएका आदरणीय विजय ध्वज थापालाई यो वर्षको ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान गरिदै छ। यो सम्मानको व्यवस्थापन लेखक ध्रुबनारायण जोन्छेँ तथा मिरा जोन्छेँबाट भएको हो।

रामसुन्दर देउजा नेपाली भाषा र साहित्यमा कलम चलाउँदै आउनु भएको नाम हो। विशेष गरेर कविता, मुक्तक, निबन्ध लगायतका विषयमा उहाँले कलम चलाउँदै आउनुभएको छ। यो सम्मान उत्तम महतले आफ्ना पिता भरतराज महतको स्मृतिमा स्थापना गर्नुभएको हो।

सोही समारोहमा साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरू नाम दिइएको पुस्तक प्रकाशन भएको छ। सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो।

पुस्तकलाई विषयवस्तु अनुसार चार खण्डमा विभाजन गरिएको जानकारी प्राप्त भएको छ। पनौती नगरको परिचय, इतिहास, जात्रा, पर्वहरू, मकुण्डो नाच आदि पुस्तकमा समेटिएका छन्।

पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभयो। एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनुभयो।

पुस्तकमा पनौतीको इतिहास , यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको छ। कार्यक्रममा कवितामा समवेत स्वरहरू नामक कविता सङ्ग्रहको पनि लोकार्पण हुने छ। सो कविता सङ्ग्रहमा नेपाल, भारत लगायत अन्य मुलुकका कविहरूका कविता सङ्गृहित रहेको कुरा साहित्यकार सूर्य लाकोजूले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस