नमोबुद्धको वडा २ मा ‘एक घर एक धारा’ अभियान

नौलो समाचार संवाददाता
२०७९ पौष १३, बुधबार मा प्रकाशित ७७४ पटक पढिएको
नमोबुद्धको वडा २ मा ‘एक घर एक धारा’ अभियान

पुस १३, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ।

बाग्मती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे-टटलेटार खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको हो। आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन्।

उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार, प्रदेश सरकारबाट विनियोजित रकमबाट बोलपत्रमार्फत निर्माण अघि बढाइएको थियो । १ सय ७३ मिटर डिप बोरिङ गरिएको छ भने त्यसको लागि मेसिन घर, ४० हजार लिटर क्षमताको रिजर्भायर टंयाक निर्माण गरिएको छ । विद्युत आपूर्तीको लागि नेपाल विद्युत्त प्राधिकरणकै स्वामित्वमा रहने गरी सय केभिएको ट्रान्सफर्मर राखिएको छ ।

लाइन विस्तारको लागि प्राविधिक स्टमेट तयार गरिएको स्थानीय उपभोक्ता दिपेन्द्र पौड्यालले जानकारी दिनुभयो। उहाँले थप बजेट व्यवस्थापनको लागि नमोबुद्ध नगरपालिकालाई अनुरोध गरिएको बताउनुभयो।

नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले आयोजना अबलोकन गर्र्दै बाकी रहेको काम पुरा गर्न नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले आयोजना सम्पन्न गर्नुभन्दा पनि त्यसको दिगोपना प्रमुख विषय रहेको बताउदै दीर्घकालिन सञ्चालन गर्ने योजना बनाउन अनुरोध गर्नुभयो।

उपभोक्ता समितिका अध्यक्ष पौडेलले नगर संरक्षक बन्ने अपेक्षा गरेको बताउनुभयो। उपभोक्ता समितिका सचिव केदारप्रसाद अधिकारीले शाखा लाइन विस्तारका साथै चौकीदार घर लगायतका संरचना बनाउनको लागि थप बजेट आवस्यक भएको बताउनुभयो।

नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायतले आयोजनाबारे जानकारी लिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस