पनौतीमा माटो परिक्षण शिविर र चुन वितरण, ६१ प्रतिशत माटोमा अझैपनि अम्लीयपना

भकारो सुधार र जैविक मल उत्पादन कार्यक्रम ल्याउने तयारी
नौलो समाचार संवाददाता
२०७९ पौष १४, बिहिबार मा प्रकाशित १०५९ पटक पढिएको

पनौतीमा माटो परिक्षण शिविर र चुन वितरण, ६१ प्रतिशत माटोमा अझैपनि अम्लीयपना

पुस १४, काभ्रे। पनौतीमा माटो परिक्षण शिविर सम्पन्न भएको छ। यही ११ गतेदेखि जारी ४ दिने शिविर आज सम्पन्न भएको हो।

पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा र माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
नगरपालिका प्राङ्गणमा सम्पन्न कार्यक्रममा किसानहरुलाई कृषि चुन पनि वितरण गरिएको थियो।
पनौती नगर क्षेत्रका ४ सय ७१ जना कृषकहरूले आ-आफ्नो खेत बारीको माटो परिक्षण गराएको पनौती कृषि शाखाका प्राविधिक सहायक अनिशा आचार्यले बताउनुभयो।

माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाका डाक्टर जनार्दन खड्काले विभिन्न वडाबाट लिईएको माटोको नमुना परिक्षणमा ६१ प्रतिशत माटोमा अझैपनि अम्लीयपनाको समस्या रहेको बताउनुभयो।

गएको वर्षको तुलनामा केही कम भएपनि यो ठूलो समस्या भएको उहाँले बताउनुभयो। तर पनि युरिया मल लगायत रासायनिक मलको प्रयोग कम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। माटोमा अम्लीयपना कम गर्न माटो तथा मल परिक्षण प्रयोशालामा हेटौंडाको तर्फबाट २१ मेट्रिकटन कृषि चुन पनौतीलाई नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पनौतीको माटोमा प्राङ्गारिक पदार्थको अभाव रहेको जानकारी दिँदै डाक्टर खड्काले यो समस्या न्यूनीकरणका लागि ‘भकारो सुधार कार्यक्रम’ ल्याउने योजना रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा ५० जना विभिन्न वडाका कृषकलाई सहभागी गराई तालिम दिने र प्रोत्साहन स्वरुप १०/१० हजार रकम पनि उपलब्ध गराउने बताउनुभयो।

यस्तै बागमती प्रदेशका ५ वटा पालिकामा जैविक मलको कार्यक्रम पनि सँगै लैजाने र मल उत्पादन र प्रयोग गरेबापत थप ५ हजार प्रोत्साहन रकम सहित दुईवटा कार्यक्रमबाट सहभागी प्रत्येक किसानले १५ हजार रुपैयाँ प्राप्त गर्ने बताउनुभयो।
नेपालमै पहिलो पटक जैविक मल उत्पादन र प्रयोगको कार्यक्रम गर्न लागेको र यसको सबै तालिम तथा प्राविधिकको व्यवस्था हेटौडा प्रयोगशालाले गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले पनौती नगरपालिकाले विगतदेखि नै किसानको हितमा काम गर्दै आएको उल्लेख गर्दै अब पनि प्रयोशालामा हेटौंडाको सहकार्यमा अझै राम्रो कार्यक्रमहरु आउँदै गरेको बताउनुभयो। रासायनिक मलको प्रयोग बढी गर्दा माटोको उत्पादक शक्ति घटेको अवस्थामा यो कार्यक्रमले किसानलाई धेरै फाइदा पुग्ने बताउनुभयो।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृषि शाखाका प्रमुख लिलानाथ सापकोटा, माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडाको बससहितको ७ जनाको टोलि तथा कृषकहरु लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस