गृह मन्त्रालयको ४८ घन्टे आदेशमा मापदण्ड विपरीत खटाईएका २२५ जना सुरक्षाकर्मी फिर्ता

नौलो समाचार संवाददाता
२०७९ पौष १४, बिहिबार मा प्रकाशित ९०६ पटक पढिएको
गृह मन्त्रालयको ४८ घन्टे आदेशमा मापदण्ड विपरीत खटाईएका २२५ जना सुरक्षाकर्मी फिर्ता

पुस १४, काठमाडौं। मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका २२५ जना सुरक्षाकर्मी फिर्ता भएका छन्।

अस्ति मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको थियो। हिजो बुधवार र आज गरेर २२५ जना सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिनुभएको छ। जसमा एक सय तीन जना नेपाल प्रहरी र ९१ जना सशस्त्र प्रहरी रहेका छन् । नेपाल प्रहरी केन्द्रीय मुख्यालय नक्सालमा र सशस्त्र प्रहरी आफ्नो मुख्यालय हलचोकमा हाजिर भएका छन् ।

यस्तै,  गृह मन्त्रालय भित्रका कर्मचारीहरूको सहयोगीका रूपमा खटिएका ३१ सुरक्षाकर्मी पनि फिर्ता भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यो संख्या उपत्यकाको मात्रै हो। केही दिनमै देशभरि नियमविपरीत यसरी खटिएका सबै प्रहरी फिर्ता हुनेछन्।

प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरूसमेत फिर्ता भएका छन्। गृहमन्त्री रवि लामिछानेले नियम मिचेर व्यक्तिगत रूपमा सुरक्षाकर्मी राखिएको भए २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका थिए।

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको थियो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस