नमोबुद्ध नगरकै पहिलो शीत भण्डार निर्माण सुरु

नौलो समाचार संवाददाता
२०७९ पौष १९, मंगलबार मा प्रकाशित ५४८ पटक पढिएको
नमोबुद्ध नगरकै पहिलो शीत भण्डार निर्माण सुरु

पुस १९, काभ्रे। नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ।

उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो। शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन्। यसअघि अन्न भण्डारणकै लागि महंगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ।

नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन कार्यक्रममार्फत पहिलो चरणमा ८५ लाख विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार, पहिलो चरणमा स्थानीय लागत सहभागिता समेत ९९ लाखको काम हुनेछ। जसमा १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्नेछन्। ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैंया कुल लागत अनुमानमा निर्माण हुन लागेको भण्डारलाई बहुबर्षीय योजनामा समावेश गरेर पुरा गर्ने नगरपालिकाको तयारी छ।

प्रति च्याम्बर ३० मेट्रिकटनका दरले ६ च्याम्बरमा १ सय ८० मेट्रिकटन तरकारी, फलफुल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जिनियर उज्वल अर्यालले जानकारी दिनुभयो।

शिलान्यास गर्दै नगर प्रमुख कुन्साङ लामाले नगरका सबै वडाका कृषकका अलावा छिमेकी रोशी, तेमाल र महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुने बताउनुभयो।

पहिलो चरणमा बन्ने एक तल्ले भवन ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको वडाअध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो। कार्यक्रममा उपस्थित कांग्रेस नगर कार्यवाहक उपसभापति इन्द्रबहादुर दाहाल, एमालेका नगर अध्यक्ष कृष्णप्र्रसाद खनाल, माओवादी केन्द्रका नगर अध्यक्ष मिण्डु लामाले नगरका सबै कृषक लाभान्वित हुने गरी योजना ल्याएको नगरपालिकाको वर्तमान नेतृत्वलाई धन्यवाद दिनुभयो।

शीत भण्डार निर्माण शुरु गरिएकोमा नमोबुद्धका स्थानीय निकै खुशी भएका छन्।

शिलान्यासमा नगर उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले, वडा नं ३ का सदस्य गोकुल भुर्तेल, रेशम दाहाल, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण दाहाल, सचिव अर्जुन तिवारी लगायत स्थानीय उपभोक्ता समेतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस