पोल्ट्री व्यवसाय जोखिममा रहेको काभ्रेली व्यवशायीको गुनासो

रासस 
२०७९ पौष २१, बिहिबार मा प्रकाशित २५४ पटक पढिएको
पोल्ट्री व्यवसाय जोखिममा रहेको काभ्रेली व्यवशायीको गुनासो

पुस १६, काभ्रे। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ ।

हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिने चेतनामूलक सन्देश दिइरहेको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताए । उनले बागमती प्रदेश सरकारको कार्यक्रमअनुसार ‘सिम्बोलिक’ रूपमा केही विद्यालयका विद्यार्थी र गर्भवती महिलालाई वितरण गरिएको जानकारी दिए । बुधबार पनौती नगरपालिका–५ चौकोटस्थित स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवती, सदरमुकाम धुलिखेलस्थित बाल मन्दिर विद्यालय र धनेश्वर प्राथमिक विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिएको हो । अण्डासँगै बालबालिकालाई खाजासमेत खुवाइएको थियो ।

यस्तै शनिबार जिल्लाको मुख्य सहर बनेपामा श्रमिकलाई अण्डा वितरण गर्ने कार्यक्रम राखिएको छ । “कार्यक्रमसँगै प्रोटिनको उत्कृष्ट स्रोतका रूपमा रहेको अण्डा नियमित खान कार्यक्रम एवं विभिन्न माध्यमबाट अनुरोध गर्दै आएको छौँ”, हुमागाईँले भने । जिल्लाको पूर्वी प्रवेशद्धार रोशी गाउँपालिकाको मङ्गलटारमा सचेतनामूलक कार्यक्रमसहित आइतबार दिवस समापन गर्ने कार्यक्रम तय गरिएको छ । छिमेकी देश भारतबाट भित्रने अवैध कुखुरा तथा चल्ला नियन्त्रणका गर्ने थप अभियानअन्तर्गत उक्त स्थानमा हालै जाँचचौकी स्थापना गरिएको छ ।

विसं २०४० देखि सुरु भएको काभ्रेको पोल्ट्री व्यवसायमा जोखिमको अवस्थामा रहेको व्यवसायी तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यस व्यवसायमा जिल्लामा करिब रु १२ अर्ब लगानी भएको बताइएको छ । लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसक्दा व्यवसायी जोखिममा परेको गुनासा व्यक्त भइरहेका छन् । काभ्रेपलाञ्चोक पोल्ट्री व्यवसायका लागि उर्वर क्षेत्र मानिन्छ भने उत्पादन जिल्लामा खपतसँगै निर्यातसमेत गरिरहेको छ । काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डामा ठूलो हिस्सा काभ्रेले ओगटेको छ।

यस्तै केन्द्रद्वारा बिहीबार आयोजित पोल्ट्री व्यवसाय तथा जिल्लाको समग्र पोल्ट्रीबारे आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा राज्यको नीति सहज बन्न नसक्दा पोल्ट्री व्यवसाय सङ्कटमा परेको गुनासो व्यक्त गरियो । पोल्ट्री व्यवसायका संस्थापक एवं नेपालमा पहिलोपटक चल्ला उत्पादन सुरु गर्ने उद्योग कव नेपालका अध्यक्ष ईश्वर शर्माले पोल्ट्रीमा दोस्रो जिल्लाका रूपमा परिचित काभ्रेमा हाल व्यवसाय जोखिममा परेको बताए ।
“नेपालमा चल्ला उत्पादन सुरु नगरेको भए हालसम्म पनि भारतको भर पर्नुपथ्र्यो । उद्योगसम्बन्धी आवश्यक नीति नहुँदा र भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा पोल्ट्री व्यवसाय दिनप्रतिदिन जोखिममा पर्दै गएको छ”, शर्माले भने । उनले जिल्लाको पोल्ट्रीको इतिहास तथा पछिल्लो अवस्थाका बारे जानकारी गराउँदै पोल्ट्री व्यवसायका कारण कुपोषण न्यूनीकरण, रोजगारको सिर्जना, मल उत्पादनबाट तरकारी तथा अन्य उत्पादन वृद्धि र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे ।

नेपालमा पोल्ट्री व्यवसाय आत्मनिर्भर हुँदाहुँदै धेरै समस्या भोग्नुपरेको पोल्ट्री व्यवसायी मञ्च काभ्रेका सचिव दयाराम महतले गुनासो गरे । उनले भने, “मुलुकमा आइरहेका विपत्ति तथा विविध कारण पोल्ट्री व्यवसायमा अवसरसँगै चुनौती थपिँदै गएका छन् । उत्पादन छ तर, उपभोग कम छ । नीति छ, कार्यान्वयन छैन ।” निजी क्षेत्रअन्तर्गत ठूलो लगानी भएको व्यवसायलाई राज्यले उपेक्षा गरेको उनले गुनासो गरे ।

सो अवसरमा डा सुदीप हुमागाईँले जिल्लाको समग्र पोल्ट्री व्यवसायको अवस्था र आगामी योजना र डा गणेश बञ्जाराले जैविक–सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पोल्ट्री व्यवसायी मञ्चका सल्लाहकार मधुसुदन गुरागाईँ, पशुपक्षी औषधि व्यवसायी सङ्घ जिल्लाका पूर्वकाअध्यक्ष यज्ञ पन्त, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा सविता ज्ञवाली, पशु सेवा प्राविधिक उद्धव सापकोटालगायतले पोल्ट्री व्यवसायीका समस्या, अवसर तथा समाधानका विषयमा आ–आफ्ना धारणा रखे ।

कव नेपालले काभ्रेमा सन् २०१३ देखि नेपालमा पहिलोपटक व्यावसायिकरूपमा कुखुराको चल्ला उत्पादन सुरु गरेको हो । काभ्रेमा वार्षिक चार लाख ८० हजार कुखुरा उत्पादन हुन्छ । सोही कुखुराबाट वार्षिक २८ हजार मेट्रिक टन मासु र सात करोड ७० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

केन्द्रका अनुसार काभ्रेमा १३ ह्याचरी, तीन सय ५० ब्रोइलर फार्म, दुई ग्राण्ड प्यारेन्ट उत्पादन गर्ने फार्म र ११ दाना उद्योग सञ्चालनमा छन् । यहाँ १७ हजारभन्दा बढी व्यक्ति रोजगारीमा संलग्न भएका छन् भने करिब रु १२ अर्ब लगानी रहेको छ । नेपालमा आर्थिक समृद्धिका लागि पोल्ट्री व्यवसायीले चार प्रतिशत योगदान पु¥याएको बताइन्छ । रु ६० अर्बभन्दा धेरै लगानी भएको यस व्यवसाय समय–समयमा विभिन्न कारण सङ्कटमा पर्ने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस