काभ्रेको खानीखोलामा ३ दिन सार्वजनिक बिदा

नौलो समाचार संवाददाता
२०७९ माघ १, आईतबार मा प्रकाशित ९०० पटक पढिएको
काभ्रेको खानीखोलामा ३ दिन सार्वजनिक बिदा

माघ १, काभ्रे। खानीखोला गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको बताउनुभयो। यो भन्दा पहिला संघ सरकारले १ दिन बिदा दिने गरिएकोमा स्थानीय सरकारले यस पटकबाट ३ दिन बिदा दिएर बिभिन्न कार्याक्रमहरुको आयोजना गरिएको बताउनुभयो।

पालिकामा पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा/डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको गाउँपालिकाले जनाएको छ।

व्हाईखा र ताम्बा प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई नगद सहित प्रमाणपत्र वितरण सम्मान कार्यक्रम राखिएको ल्होछारको अवसरमा गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई ‘खानीखोला प्रतिभा सम्मान’ कार्यक्रममार्फत् सम्मान गरिने कार्यक्रम रहेको गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले जानकारी दिनुभयो।

ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोला अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ।

तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ। त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ। तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस