पोखरामा विमान दुर्घटना : सवार ७२ मध्ये २९ जनाको शव भेटियो

नौलो समाचार संवाददाता
२०७९ माघ १, आईतबार मा प्रकाशित ४६४ पटक पढिएको
पोखरामा विमान दुर्घटना : सवार ७२ मध्ये २९ जनाको शव भेटियो

माघ १, पोखरा। पोखराको सेती खोंचमा आज बिहान भएको विमान दुर्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए ।

१४ वटा शव सेती खोंचमा फेला परेको तर निकाल्न गाह्रो भइरहेको र निकाल्ने प्रयास जारी रहेको एसपी केसीले बताए ।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस