बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम

नौलो समाचार संवाददाता
२०७९ माघ ९, सोमबार मा प्रकाशित १०१५ पटक पढिएको

बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम

माघ ९, काभ्रे। बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण दिईएको छ।

महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सोमबार सम्पन्न भएको हो।

बेथानचोक गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एक हप्ते तालिम कार्यक्रममा वडा नं. १ देखि ६ सम्मका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम माघ ३ गते शुरुभइ ९ गते समापन भएको हो।

तालिमको समापन कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर नहोस भन्ने उद्देश्यले यस प्रकारको तालिम आयोजना गरिएको बताउनुभयो । तालिमले महिला जनप्रतिनिधिहरुमा क्षमता अभिवृद्धि हुँदा आफूद्वारा सम्पादन हुने काममा थप प्रभावकारी सञ्चारको विकास हुन गई जनता र प्रतिनिधिविच विस्वासको वातावरणरमा बढोत्तरी हुने उहाँको भनाइ थियो ।

सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने जाँगर महिला जनप्रतिनिधिको छवी बनेको बताउँदै उहाँले यस प्रकारका तालिम कार्यक्रमले त्यसलाई मजवुत तुल्याउने बताउनुभयो । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिल्ने र महिला सशक्तीकरण अपुरो हुने भएकाले पालिकाले जनप्रतिनिधिलाई सक्षम र सबल पार्दै पालिकाको सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्य लिएको उहाँको जीकिर थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिकामा न्यायिक समितिका साथै अनुगमन समिति, राजस्व परामर्श समिति, बजेट तर्जुमा समिति र गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको समन्वय समितिको मुख्य जिम्मेवारी महिलाहरुकै काँधमा रहेकोले महिला सक्षम हुनै पर्ने बताउनु भयो । यतिका धेरै जिम्मेवारी दिइँदा यी कामलाई कसरी अगाडि बढाउने भन्ने ज्ञानको कमी, योग्य जनशक्तिको अभाव र आर्थिक स्रोतसाधनको कमीले काम प्रभावकारी हुन नसक्दा जनताका काम समयमै सम्पादन हुनेमा शंका उत्पन्न हुने भएकोले पनि यस प्रकारको तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कुनै पनि महिला प्रतिनिधिले वडामा गएर आफूले कुनै पनि निर्णय गर्न नपाएपछि आफ्नो सहभागिता अर्थपूर्ण नभएको महसुस गर्नु नपरोस् भन्दै उहाँले आर्जित सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तै गाउँपालिकाका प्रशासन प्रमुख विश्वनाथ दाहालले सुशासन र समृद्धि सरकारको लक्ष्य भएकाले स्थानीय तहमा महिला नेतृत्वलाई कसरी प्रशिक्षित गर्न सक्छौं भन्नेबारेमा सोच्नु जरुरी भएको बताउनु भयो । उहाँले महिला प्रतिनिधिले आफूसामु आएका चुनौतीलाई एउटा अवसरका रूपमा लिनु जरुरी छ । त्यसका लागि यस प्रकारका तालिम सहयोगी हुने बताउनु भयो ।

तालिमका सहभागीहरुलाई सार्वजनिक भाषणकला, उद्घोषण कला, क्षमता अभिवृद्धि, नेतृत्व विकासका साथै लैंगिक, न्यायिक क्षेत्रका विविध विषयमा तालिम प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजता आचार्यले बताउनु भयो । यस प्रकारको तालिमका लागि माग भइ आएकोले तालिम प्रदान गरिएको उहाँको भनाई छ । पालिकाले यस अघि महिलाहरुलाई विभिन्न तालिम दिइसको छ ।


प्रतिक्रिया दिनुहोस