रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता, आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

नौलो समाचार संवाददाता
२०७९ माघ १५, आईतबार मा प्रकाशित ९४८ पटक पढिएको
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता, आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

१५ माघ, काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम भएको बताए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी 

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।

१३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

ढकालले भने, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।


प्रतिक्रिया दिनुहोस