राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

नौलो समाचार संवाददाता
२०७९ माघ १५, आईतबार मा प्रकाशित १०४४ पटक पढिएको
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

माघ १५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ ।

सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’

गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ । तर, अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल भइसकेको छैन्,’ ढकालले भने, ‘यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुन्छ ।’

त्यसो त गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने प्रावधान छ । मन्त्री बनाइएका गैरसांसद ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेमा भने पद मुक्त हुने छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्रालयमा रास्वपाको दाबी कायमै रहेको सुनाए । ‘गृहमन्त्रालयमा हाम्रो पार्टीको दाबी कायमै छ,’ उनले भने, ‘यस विषयमा सत्तारुढ अरु दलसँग पनि छलफल हुन्छ ।’

लामिछानेले नागरिकता लिइसकेपछि फेरि पार्टी सभापति बनाउने तयारी भइरहेको छ । लामिछानेलाई फेरि पार्टी सभापति बनाउन र गृहमन्त्रालयका बारेमा निर्णय गर्न रास्वपाले केन्द्रिय समितिको बैठक पनि बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस