पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

नौलो समाचार संवाददाता
२०७९ माघ १५, आईतबार मा प्रकाशित १०५८ पटक पढिएको
पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

माघ १५, काठमाडौं। अभिनेता पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ ।

गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको हो ।

पलका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार गत भदौ २१ गते बलात्कारको मुद्दामा पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता भएको हो । अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

यो फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन गरिसकेका छन् । यो मुद्दाको सुनुवाइ मिति भने तोकिएको छैन ।

जबर्जस्ती करणीकै मुद्दामा पलले तनहुँ जिल्ला अदालतबाट भने माघ ३ गते सफाइ पाएका छन् । सहयोगी भूमिका खेलेको भनिएका कृष्ण जोशीले पनि तनहुँ अदालतबाट सफाइ पाइसकेका छन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा पलविरुद्ध उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस