१२ वर्षमा १२ पटक म्याद थप्दा पनि बनेन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना

नौलो समाचार संवाददाता
२०७९ माघ १५, आईतबार मा प्रकाशित १४९८ पटक पढिएको

१२ वर्षमा १२ पटक म्याद थप्दा पनि बनेन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना

माघ १५, काभ्रे। ३ नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष बितिसकेको छ। पनौती, बनेपा र धुलिखेल नगरपालिका गरी ३ वटा नगरका जनतालाई खानेपानीको सुबिधा दिनेगरी आयोजना सुरु भएको थियो।

सम्झौताको ३ वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन। चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेशनल इंक नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरिदिइएको समयमा काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो।

इंकले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको छ। ‘अब इंकले काम नगरेपछि नयाँ ठेकेदार कम्पनीको खोजी गरिने निर्णय भएको छ, यसका लागि तीन नगरको बैठकले तय गर्नेछ’, आयोजनाका सूचना अधिकारी रामसुन्दर वादेले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीको खोजीबारे तीन नगरका जनप्रतिनिधिको बैठक छिट्टै बस्ने तयारी भइरहेको छ । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ।

आयोजना सम्पन्न नहुँदा तीन नगरका करिब ९३ हजारले खानेपानी पाउन नसकेका हुन्। गत वर्षको चैतसम्ममा काभ्रेका तीन पूराना नगर बनेपा, धुलिखेल र पनौती नगरको स्थानीयवासीका घरघरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने जनाइएको थियो।

पनौती नगरपालिकाको ९ नम्बर वडाको शारदादेवीस्थान डाँडामा पानी पानी पुर्‍याइएको छ। बत्तिमुनिको अध्यारो भने झैँ उक्त स्थानका स्थानीय बासिन्दा नै सो पानि प्रयोग गर्न बाट बन्चित भैरहेका छन्।

परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरण कार्य लम्ब्याइएको हो। नयाँ कम्पनी छनोट गरिएपछि चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने जनाइएको छ। बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक(एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो। सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको थियो।

हाल खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि तीनै नगरका प्रमुखले आयोजनाप्रति चासो देखाएका हुन्। नगरप्रमुखले खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ परीक्षण गराउनुका साथै पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रिया थाल्न लगाएका छन्।

यस्तै पनौती नपा–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था तथा केन्द्र निर्माणकार्य सक्न नयाँ ठेकेदार कम्पनीको खोजी गर्नुपर्ने जनाइएको छ। आयोजनाको रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ। वादेका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ। मुख्य तथा अन्य पाइपलाईनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको जनाइएको छ।

आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन)को काम भएको छ। तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी आयोजनाको काममा ढिलाइ भएको जनाइएको छ।

आयोजनाअनुसार क्षति पुर्‍याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका एक हजार एक सय १४ इन्टर–कनेक्सन गरिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । आयोजना सम्पन्न भएपछि तीन नगरमा ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् ।

‘अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो’ धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार नयाँ ठेकेदार कम्पनीले केही महिनामै आयोजना सकेर खानेपानी वितरण हुनसक्ने उनको अनुमान छ । आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकबाट अनुदान तथा ३५ प्रतिशत रकम विसं २०६९ असारमा नगर विकास कोषबाट ऋणका रुपमा लिइएको थियो । बाँकी १५ प्रतिशत रकम भने तीन वटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ।

वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा भएको थियो । यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याटबाहेक रु ९९ करोड ८ लाख सात हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस