पनौती नगरले र्यालीसहित सहिद पार्क पुगी मनायो ‘सहिद दिवस’

नौलो समाचार संवाददाता
२०७९ माघ १६, सोमबार मा प्रकाशित १०४८ पटक पढिएको

पनौती नगरले र्यालीसहित सहिद पार्क पुगी मनायो ‘सहिद दिवस’

माघ १६, काभ्रे। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा आज पनौतीमा सहिद दिवस मनाईएको छ।

पनौती नगरपालिकाको आयोजनामा पनौती वडा नम्बर ८ स्थित शहिद पार्कमा एक कार्यक्रम गरी दिवस मनाईएको हो।

पनौती बसपार्कदेखि नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक-विद्यार्थी तथा कर्मचारीलगायतको प्रभातफेरी र्याली सहिद पार्क पुगेको थियो।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा २०६२/६३ को जन-आन्दोनलमा जिवनको आहुती गरेका पनौतीका सगुन ताम्राकारको सालिकमा माल्यार्पण गरिएको थियो।

शहिदहरुको बलिदानीको चर्चा गर्दै पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले हिजोआज शहिद दिवस औपचारिकतामा मात्र सिमित हुदै गएको बताउदै शहिदको सपना साकार गर्ने भन्दा पनि व्यक्तिवादी र स्वार्थ हाबी हुदै गएको उल्लेख गर्नुभयो। हामीलाई स्वतन्त्र रुपमा जिउन प्राणको आहुति दिएका सहिदको सम्झना मात्र गर्न पनि हिजो आज मानिसहरु बेवास्त गर्न थालेको बताउदै अहिलेदेखि नै सामाजिक सेवाका काममा पनि आफुलाई ढाल्दै लैजान सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो।

यस्तै, उप-प्रमुख गीता बन्जाराले सहिदको बलिदानीको स्मरण गर्दै शहिदले देखेको सपना पुरा गर्न विकास निर्माणसंगै स्वास्थ्य, शिक्षा लगायत आधारभूत आवश्यकताबाट कोहि पनि बन्चित हुन नहुने बताउनुभयो।

कार्यक्रममा कांग्रेस पनौती नगरका उपसभापति पुरुषोत्तम कर्माचार्य, नेकपा माओवादीका अध्यक्ष हस्तबहादुर तामाङ तथा एमाले पनौतीका सचिव सन्तोष केसीले नगरपालिकाको सहयोगमा बनेको सहिदपार्कको संरक्षण गर्न तर्फ पनि सोच्नु पर्ने, विकास निर्माणका काममा पार्टीगत अहमता र विभेद गर्न नहुने औल्याउनुभयो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरु, नगर क्षेत्रका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

जहानीयाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवनको आहुती गरेका सपूतहरुको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह’ मनाइँदै आएको छ। स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।


प्रतिक्रिया दिनुहोस