मुहान संरक्षण कार्यक्रम हेर्न फिन्डल्याण्डको टोली नमोबुद्ध नगरमा 

नौलो समाचार संवाददाता
२०७९ माघ १७, मंगलबार मा प्रकाशित ५९२ पटक पढिएको

मुहान संरक्षण कार्यक्रम हेर्न फिन्डल्याण्डको टोली नमोबुद्ध नगरमा 

माघ १७, काभ्रे। जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ।

नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेन लगायत २४ सदस्यीय टोलीले इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको मुहान संरक्षण कार्यक्रम अवलोकन गरेको हो।

पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८/७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए। सोही मुहानहरुबाट पानी संकलन गरी टंयाकी निर्माण गरेर स्थानीय १२–१३ घरधुरीलाई खानेपानी खुवाइएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो। टंयाकीमा संकलन भएर बढी भएको पानी स्थानीयले सिंचाईको लागि प्रयोग समेत गरेका छन्। हिउँदमा भने पानी केही कम संकलन भएको नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार, सोही वडाका अन्य ३ स्थानमा पनि यस्ता रिचार्ज पोखरी खनिएका छन्।

राजदुत हेका, निर्देशक किल्युनेन लगायत टोलीका सदस्यले कार्यक्रम लागूभएपनि स्थानीय समुदाय लाभान्वित भएको बिषय बारे जानकारी लिएका थिए । स्थनीय अस्बिनकुमार श्रेष्ठले भुकम्पपछि सुकेका पानीका श्रोत रिचार्ज पोखरी खनेपछि पुन रसाएको प्रतिकृया दिए । स्थानीय पूर्णमान लामाले सो प्रविधी प्रयोग गरेपछि सुकेको मुहान पनि रसाएको बताउनुभयो। स्थानीय लमिन माया लामाले पहिला आकाशे पानीको भरमा खेती हुने भएपनि अहिले पानी जमाएर तरकारी खेती र पशुपालन समेत गरेको बताउनुभयो।

टोलीलाई धन्यवाद दिँदै नगर प्रमुख कुनसाङ लामाले सिमित श्रोत र साधनको कारण विकासका सबै क्षेत्रमा नगरले काम गर्न सक्ने अवस्था नभएको भन्दै सबै क्षेत्रको सहयोग र सहकार्यका साथ अघि बढ्न चाहेको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस्ता कार्यक्रमले वातावरण सन्तुलन कायम गर्दै उत्पादन र उत्पादकत्व बढाउन फलदायी भएको भन्दै नगरपालिका यस्ता योजना सञ्चालन गर्न थप उत्साहित भएको बताउनुभयो।

कार्यक्रममा नगर प्रवक्ता टिकाबहादुर केसी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नमोबुद्ध ३ का वडा सदस्य रेशमबहादुर दाहाल, कृषि प्राविधिक सहायक नविन अधिकारी लगायतको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस