नेपालमा सबैभन्दा धेरै सामसङ फोनको प्रयोग हुन्छ, दोश्रो-तेश्रोमा कुन?

नौलो समाचार संवाददाता
२०७९ माघ १७, मंगलबार मा प्रकाशित ५८६ पटक पढिएको
नेपालमा सबैभन्दा धेरै सामसङ फोनको प्रयोग हुन्छ, दोश्रो-तेश्रोमा कुन?

माघ १७, काठमाडौं। दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको सिस्टममा देखिएको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सामसङ ब्रान्डका फोन प्रयोग गर्ने गरेको पाइएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको प्रतिवेदनअनुसार नेपालमा प्रयोगको हिसाबले सामसङ सबैभन्दा अघि रहेको पाइएको हो। प्राधिकरणले सेवा प्रदायकको नेटवर्कमा पहिचान भएको तथ्याङ्कका आधारमा यो प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदन अनुसार नेपालमा कुल ५२ ब्राण्डका मोबाइल सेट प्रयोगमा रहेको पाइएको छ। त्यसमध्ये एनसेलको नेटवर्कमा ५१ र नेपाल टेलिकमको नेटवर्कमा ५२ ओटा देखिएको छ।

प्रतिवेदन अनुसार अध्ययनको क्रममा एनसेलको नेटवर्कमा कुल एक करोड ७० लाख ३९ हजार ३५ ओटा मोबाइल सेट पहिचान भएको थियो भने, नेपाल टेलिकमको सिस्टममा एक करोड ५७ लाख ८४ हजार ७२३ ओटा मोबाइल सेट पहिचान भएको छ।

त्यसमध्ये सबैभन्दा बढी सामसङका सेट प्रयोगमा भएको प्रतिवेदनमा उल्लेख छ। सामसङका सेट एनसेल र नेपाल टेलिकम दुवैको नेटवर्कमा सबैभन्दा बढी प्रयोग भएको देखिन्छ भने, दोस्रो नम्बरमा साओमी ब्राण्डका फोन प्रयोग भएको देखिएको छ।

यो सूचीको तेस्रो स्थानमा ओप्पो र चौंथो नम्बरमा भिभो रहेका छन्। त्यस्तै आईटेल, लाभा, नोकिया क्रमशः पाँचौँ, छैटौँ र सातौँ नम्बरमा रहेका छन्।

प्रतिवदेन अनुसार आठौं नम्बरमा एनसेलको नेटवर्कमा रियलमी रहेको छ भने नेपाल टेलिकमको नेटवर्कमा एप्पल रहेको छ। त्यस्तै नवाैँ नम्बरमा एनसेलतर्फ कलर्स र नेपाल टेलिकमतर्फ रियलमी रहेको छ। दशौँ स्थानमा एसनेलको नेटवर्कमा ह्वावे हुँदा नेपाल टेलिकमको सूचीमा कलर्स रहेको छ।

प्रतिक्रिया दिनुहोस