काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा ‘खेलकुद महोत्सब’ हुदै

उप-राष्ट्रपति पुनले महोत्सवको उद्घाटन गर्ने
नौलो समाचार संवाददाता
२०७९ माघ १८, बुधबार मा प्रकाशित ७५७ पटक पढिएको

काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा ‘खेलकुद महोत्सब’ हुदै

माघ १८, काभ्रे। काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा खेलकुद महोत्सब हुने भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ पनौतीमा रहेको क्षेत्रिय रंगशालामा यहि माघ २० गतेबाट बृहत खेलकुद महोत्सव हुने भएको हो।

आज (मंगलबार) पनौतीमा जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समिति काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिईएको हो।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले खेल महोत्सवमा २ हजार खेलाडीले सहभागिता जनाउने जानकारी दिनुभयो।

उप-राष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा विभिन्न १३ वटा खेलहरु खेलाईने र १३२ वटा स्वर्ण पदक, १३२ रजत र १९४ काश्य पदकका लागि प्रतिस्पर्धा हुने गौतमले जानकारी दिनुभयो।

महोत्सवमा एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, कराते (सितेरियो), फुलकन्ट्रयाक्ट कराते, WTF तेक्वान्दो, ITF तेक्वान्दो, ब्याटमिन्टन, चेस, योगा लगायतका खेल खेलाईने जानकारी दिईएको छ।

प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार, दोश्रो हुने टिमले २० तथा तेश्रोले १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।

खेलकुद महोत्सबका मध्यमद्वारा राम्रो खेलाडी भएको जिल्ला, कुलतमा युवाहरुलाई फस्न नदिन र खेलकुदबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि खेल महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो।

आजको दिनसम्म खेल महोत्सवमा सहभागी हुन १ हजार ४९४ जना खेलाडीहरुले नाम दर्ता गरीसकेको जानकारी दिनुभयो।

यो संगै जनप्रतिनिधि, पत्रकार, शिक्षक, कर्मचारीलगायतको फ्रेन्डशिप म्याच पनि हुने कार्यक्रममा जानकारी दिईएको छ।

पनौतीमा रहेको रंगशालालाई काभ्रेकै उत्कृष्ट खेल क्षेत्र बनाउन पनि महोत्सवको आयोजना गरिएको र रंगशालाका केहि  बाँकी कामहरु पनि गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो।

उहाँले स्थानीय निकायले आ-आफ्नो बजेट, नीति तथा कार्यक्रम बनाउदा खेलकुदको विकासका लागि बजेट छुट्याउनु पर्नेमा ध्यानाकर्षण गराउनुभयो।


प्रतिक्रिया दिनुहोस