पनौती नगरपालिकाले हात पार्यो काभ्रे खेलकुद महोत्सवको उपाधि

नौलो समाचार संवाददाता
२०७९ माघ २५, बुधबार मा प्रकाशित ४६२ पटक पढिएको
पनौती नगरपालिकाले हात पार्यो काभ्रे खेलकुद महोत्सवको उपाधि

माघ २५, काभ्रे। २० गतेदेखि जारी काभ्रे खेलकुद महोत्सवको उपाधि पनौती नगरपालिकाले हात पारेको छ।

खेलकुद महोत्सवमा ५ विधाको खेलमा प्रथम हुँदै पनौतीले उपाधि हात पारेको हो।

काभ्रे जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति काभ्रेको संयुक्त रुपमा आयोजित खेलकुद महोत्सवमा विभिन्न १२ विधाका खेल खेलाइएको थियो।

जसमा पनौती नगरपालिका फुटबल, व्याडमिन्टन, डब्लुटिएफ तेक्वान्दो र कबड्डी (महिला/पुरुष दुवैतर्फ) प्रथम हुँदा एथ्लेटिक्समा दोस्रो भएका छन्।

त्यस्तै बनेपा नगरपालिका कराते र फुलकन्ट्याक्ट करातेतर्फ प्रथम भएसँगै बुद्धिचाल, कबड्डी (महिला) र व्याडमिन्टमा दोस्रो र कबड्डी (पुरुष)तर्फ तेस्रो स्थान हात पर्दा धुलिखेल नगरपालिका बुद्धिचाल र आइटीएफ तेक्वान्दोतर्फ प्रथम र भलिबल (पुरुष) तेस्रो भएको छ।

खानीखोला गाउँपालिका भलिबलमा दोस्रो (पुरुष) र फुटबलमा तेस्रो भएका छन्। महाभारत गाउँपालिका पुरुष भलिबलतर्फ प्रथम भएको छ। रोशी गाउँपालिका फुटबल (पुरुष) तर्फ दोस्रो र पाँचखाल भएका छन्।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माघ २० गते काभ्रेको पनौतीस्थित क्षेत्रीय रंगशालमा उद्घाटन गरेसँगै सुरु भएको खेलकुद महोत्सव मंगलबार बनेपाको लायकुमा समापन भएको हो।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमका अनुसार फुटबल, भलिबल, कराते लगायतका १२ विधाका खेलमा १ हजार ६ सय बढी खेलाडी सहभागी रहेका छन्।

जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानविर वाईबाका अनुसार सबै विधाका पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार, २० हजार र १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन्। उनले खेलकुद महोत्सवमा सहभागी खेलाडीलाई ट्रयाक सुटसँगै खाना र बस्ने व्यवस्था आयोजकले नै गरेको र त्यसमा कुनै कमी नगरेको बताए।

काभ्रेको इतिहासमा पहिलोपटक भएको खेलकुद महोत्सवको खेलहरु जिल्लाका प्रमुख सहर पनौती, बनेपा र धुलिखेलमा खेलाइएको थियो।

प्रतिक्रिया दिनुहोस