राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै प्रहरीले कुटे डाक्टर

चिकित्सकहरूको प्रदर्शन
नौलो समाचार संवाददाता
२०७९ माघ २७, शुक्रबार मा प्रकाशित ९१५ पटक पढिएको
राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै प्रहरीले कुटे डाक्टर

माघ २७, काठमाडाैं। प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन्।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन्।

संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए ।

वीर अस्पतालमा निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले डा सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउन लागेका थिए। बाटोमा सुरक्षामा खटिरहेका प्रहरीलाई आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दैं कार्ड देखाउँदा-देखाउँदैं पनि उनको कार्ड खोसेर लाठी चार्ज गरिएको जानकारी पाएको डा बस्नेतले बताए।

उनको टाउकोमा चोट लागेको छ।

सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले प्रदर्शन गरिरहेका छन् ।

ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरूले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अति व्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।

घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरूले प्रहरीको विरोधमा प्रदर्शन गरिरहेका छन ।

यता घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस