पनौतीमा वसन्त काव्य गोष्ठी, कृति विमोचन तथा विभिन्न साहित्यकार सम्मानित

नौलो समाचार संवाददाता
२०७९ फागुन १४, आईतबार मा प्रकाशित ४८४ पटक पढिएको

पनौतीमा वसन्त काव्य गोष्ठी, कृति विमोचन तथा विभिन्न साहित्यकार सम्मानित

फागुन १४, काभ्रे। काभ्रेको पनौतीमा वसन्त काव्य गोष्ठी आयोजना गरिएको छ। सो गोष्ठीको अवसरमा पाँच साहित्यकारहरु सम्मान गरिएको  छ।

साहित्यिक पत्रिका अक्षरमार्गको आयोजना, पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर क्याम्पसको संयोजनमा शनिबार भएको वसन्त काव्यगोष्ठी तथा पुस्तक विमोचनमा विभिन्न स्थान र विधाका पाँच साहित्यकारहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा प्राडा विष्णु एस राई, श्रीराम राई, धु्रबनारायण जोन्छें, सीता विष्ट र वसन्त नकर्मी रहेका छन् । ती व्यक्तिहरुले समाजसेवाका साथै शैक्षिक र साहित्यिक क्षेत्रमा पुर्याइरहेको योगदानको कदरस्वरुप सम्मान गरिएको अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक एव. युवा कवि सूर्यप्रसाद लाकोजूले बताए ।

लेखिका मीरा पौड्यालको ‘देखेको कथा’ र पनौति साहित्य समाजकी अध्यक्ष सुभद्रा दहालको ‘मनको आँखा’ कृतिको विमोचन समेत गरिएको सो कार्यक्रममा प्राडा विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग काव्य सम्मान, श्रीराम राईलाई अक्षरमार्ग बाल साहित्य सम्मान, धु्रबनारायण जोन्छेलाई कमानसिंह तुलसा अक्षरमार्ग सम्मान, सीता विष्टलाई विष्णुसुन्दर अक्षरमार्ग काव्य सम्मान र वसन्त नकर्मीलाई दुर्गाजगत अक्षरमार्ग काव्य सम्मान प्रदान गरिएको थियो ।

उनीहरुलाई पनौति नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सम्मान गरेका थिए । कार्यक्रममा उनले साहित्यकारहरु नै भाषा, अक्षरका संरक्षक भएकाले सो कार्यलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

उनले साहित्यकारहरुले समाजमा रहेका विकृति, विसंगति कम गर्नका लागि लेखनीमार्फत् समाजका सबै वर्गलाई झक्झक्याउनुपर्नेमा पनि जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस