एमाले बाहिरिएपछी प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

नौलो समाचार संवाददाता
२०७९ फागुन १५, सोमबार मा प्रकाशित ४१८ पटक पढिएको
एमाले बाहिरिएपछी प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

फागुन १५, काठमाडाैं। सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।

एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री बिमला राई पौड्यालले दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई पार्टीबाट मन्त्री भएका सबै जनाले राजीनामापत्र बुझाएको बताइन्।

दाहाल मन्त्रिपरिषद्‍मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको मा‌ओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई दल मात्र बाँकी

अब नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई दल मात्र बाँकी रहेका छन्।

माघ ३ गते बनेको २५ सदस्यीय मन्त्रिपरिषद् अब ७ जनामा सीमित भएको हो।

पुस ११ गते गठन भएको सरकारलाई प्रचण्डले माघ ३ गते पूर्णता दिएका थिए ।

नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरीदिएपछि गृह मन्त्रालय लामो समयदेखि खाली छ ।

त्यसको केही दिनपछि माघ २३ गते रास्वपाका मन्त्रीहरूले राजीनामा दिएका थिए । पुस १० गते बालुवाटारमा भएको सहमतिविपरीत माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि फागुन १३ गते राप्रपाले सरकार छाडेको थियो ।

त्यसको दुई दिनपछि फागुन १५ मा सरकारमा सहभागी सबभन्दा ठूलो दल नेकपा एमाले बाहिरिएको हो। हाल मन्त्रिपरिषद् ७ सदस्यीय बन्न पुगेको छ । अब सरकारमा माओवादीका ६ र जनमत पार्टीका एक मन्त्री मात्र बाँकी छन् ।

माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन मन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली मन्त्री छन्। माओवादी बाहेक सरकारमा जनमत पार्टीका अब्दुल खान सहभागी छन् ।

एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्को बैठक राख्न नै समस्या परेको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा नयाँ बनेको गठबन्धन दलसँग परामर्श गर्ने भएका छन् ।

एमाले सरकारबाट बाहिरिसकेकाले राष्ट्रपति चुनाव अगाडि नै कांग्रेस, जसपा र नेकपा एसलाई सरकारमा सहभागी गराउने तयारी शुरु भएको माओवादीका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए ।

एमालेसहितको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पुस ११ मा उनले एमाले र रास्वपालाई लिएर सरकार गठन गरेका थिए।

पुस २६ गते प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएको थियो ।


प्रतिक्रिया दिनुहोस