पनौती नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ फागुन २६, शुक्रबार मा प्रकाशित ११७० पटक पढिएको
पनौती नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न

फागुन २६, काभ्रे। पनौती नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न भएको छ।

आज (शुक्रबार) नगरपालिकाको सभाहलमा नगर प्रमुख रामशरण भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा उप-प्रमुख गीता बन्जाराले चालु आर्थिक वर्ष २०७९/८० का लागी एघारौं नगरसभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संसोधन प्रस्ताव पेश गर्नुभएको थियो।

सभामा वडा अध्यक्ष वेदप्रसाद बन्जाराले चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको आय व्यय अनुमोदनको प्रस्ताव पेश गर्नुभएको थियो।

यस्तै, वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को यस अवधिसम्मको हासिल उपलब्धिको प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो।

चालु आर्थिक वर्ष २०७९/८० को यस अवधिसम्मको न्यायिक समितिको प्रतिवेदन वडा अध्यक्ष जयराम केसीले पेश गर्नुभयो।

वडा अध्यक्ष बिनोद खत्रीले चालु आर्थिक वर्ष २०७९/८० को यस अवधिसम्मको योजना अनुगमन तथा फरफार समितिको प्रतिवेदन पेश गर्नुभएको थियो।

यस्तै, वडा अध्यक्ष भिमप्रसाद आचार्यले चालु आर्थिक वर्ष २०७९/८० को यस अवधिसम्मको विपद व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्नुभएको थियो।

वडा अध्यक्ष शहकुलकुमार हुमागाईंले एघारौ नगरसभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरु अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्नुभयो।

यसैगरी, वडा अध्यक्ष जयकुमार तामाङले उद्योग दर्ता अनुगमन तथा नियमन सम्बन्धी विधेयक २०७९ पेश गर्नुभयो भने वडा अध्यक्ष सविन ताम्राकारले गैर सरकारी संघसंस्था दर्ता सम्बन्धी विधेयक २०७९ पेश गर्नुभयो।

वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षा ऐन २०७४ मा पहिलो संसोधन सम्बन्धि प्रस्ताव पेश गर्नुभयो भने वडा अध्यक्ष दिपकप्रसाद दाहालले धन्यवाद प्रस्ताव पेश गर्नुभएको थियो।

सभामा वडा नम्बर ३ र १० बाट कुनै पनि प्रस्ताव पेश भएन।

सभामा छलफलबाट उठेका विभिन्न विषयवस्तुको सभापति एवं नगरप्रमुख रामशरण भण्डारीले सम्बोधन गर्नुभएको थियो।

यस्तै नगरसभा सदस्यहरु, नगरका सबै वडा अध्यक्षहरुले समसामयिक विषय लगायत सार्वजनिक महत्त्वको विषयमा आफ्ना भनाई तथा विचार राख्नुभएको थियो।

यस्तै, नगरसभामा उपरमुख गीता बन्जाराले आफ्ना भनाइ तथा विचार राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस