नमोबुद्धमा निशुल्क स्वास्थ्य परिक्षण, एक बर्षसम्म औषधी पनि निशुल्क

नौलो समाचार संवाददाता
२०७९ फागुन २७, शनिबार मा प्रकाशित ११४५ पटक पढिएको
नमोबुद्धमा निशुल्क स्वास्थ्य परिक्षण, एक बर्षसम्म औषधी पनि निशुल्क

फागुन २७, काभ्रे। नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गर्ने भएको छ।

नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म नि:शुल्क औषधीको व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो।

फागुन २८ गते आइतबारबाट यसको शुभारम्भ गरिदैछ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज दाहालका अनुसार, नगरभित्रका स्वास्थ्य संस्था र अन्य विभिन्न स्थान गरी १०७ स्थानबाट १८ बर्षमाथिका नागरिकको रक्तचाप, ३० बर्षभन्दा माथिका नागरिकको सुगर (मधुमेह), प्रोटिन र अल्कालिन परिक्षण हुनेछ। स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराइने उहाँले जानकारी दिनुभयो।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसंग सहकार्य गर्दै नगरपालिकाको आन्तरिक श्रोतबाट कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ।

नगर प्रमुख लामाले आफू निर्वाचित भएपछि गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लगेको बताउनुभयो। पदभार ग्रहण गर्ने क्रममा नगर प्रमुख लामाले जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने, निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य विमा कार्यक्रम क्रमश संचालन गर्ने लगायतका निर्णयमा हस्ताक्षर गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस