उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, एउटै दलबाट २ जना

नौलो समाचार संवाददाता
२०७९ फागुन २७, शनिबार मा प्रकाशित १०३५ पटक पढिएको
उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, एउटै दलबाट २ जना

फागुन २७, काठमाडौं। ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ३ दलबाट ४ जना नेताको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका आबद्ध २ दलका ३ र एमालेका १ नेताले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र प्रदेश सांसद प्रमिला यादवले उपराष्ट्रपतिमा उम्मेवदारी दर्ता गराएका हुन् । सत्ता गठबन्धनमै आबद्ध दल जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

एमालेबाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन् । २ बजेसम्मको समयमा सत्ता गठबन्धनका २ दलबाट ३ जना र विपक्षी एमालेबाट १ जनाको उम्मेदवारी परेको हो ।

जसपाबाट किन २ जनाले दिए उम्मेदवारी ?

राष्ट्रपतिमा खस आर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यसैले निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

संविधानको धारा ७० मा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हने गरी गरी गर्नुपर्नेछ ।’ भन्ने छ ।

तर आयोगको व्याख्या भन्दै राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्नेमा केही दलले लबिङ गरेका छन् ।

तर जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेवदार बनाउने तयारी गरेको थियो । यही बेला आयोगको दुई अर्थ लाग्ने विज्ञप्ति आएपछि अन्योलको स्थितिमा जसपाले पुरुष र महिला दुवै उम्मेदवार अगाडि सारेको हो ।

आयोगले उम्मेदवारी दर्ता गरे जसपाकी प्रदेश सांसद प्रमिलाको उम्मेदवारी फिर्ता लिने तयारी छ ।

यस्तोमा रामहायलाई सत्ता गठबन्धनले आधिकारिक उम्मेदवार घोषणा गर्ने तयारी गरेका छन् । रामसहायलाई उपराष्ट्रपति बनाउन सक्दा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उनले जितेको बारा २ बाट निर्वाचन जितेर संसदमा आउने अवसर मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस