सरकारले अनुदान हटाएर मलको मूल्य बढायो, युरिया, डीएपी र पोटासमा प्रतिकेजी कति बढ्याे ?

नौलो समाचार संवाददाता
२०७९ फागुन २९, सोमबार मा प्रकाशित १४०० पटक पढिएको
सरकारले अनुदान हटाएर मलको मूल्य बढायो, युरिया, डीएपी र पोटासमा प्रतिकेजी कति बढ्याे ?

फागुन २९, काठमाडाैं। सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ।

सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा झारेको छ।

२६ फागुनमा सरकारले गरेकाे निर्णयअनुसार मलमा गरिएको अनुदान कटौतीबाट मलको प्रकृति अनुसार प्रति केजी ७ देखि ११ रुपैयाँसम्म मूल्य बढेको छ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार लागत बढेका कारण सरकारले अनुदान कटौती गर्दा मूल्य बढ्न पुगेको हो। २६ फागुन अघिको तुलनामा अब युरियामा ११ रुपैयाँ, डीएपीमा ७ रुपैयाँ र पोटासमा ९ रुपैयाँले प्रति केजीका दरले मूल्य बढेर महँगो भएको उहाँले बताउनुभयो।

अब युरिया मलको प्रतिकिलो किसान मूल्य १४ बाट २५ रुपैयाँ, डीएपीको ४३ बाट ५० रुपैयाँ र पोटासको ३१ बाट ४० रुपैयाँ प्रति किलो पुगेको।

२६ फागुन अघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर औषतमा ५९.४ प्रतिशतमा झारिएको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ।

मन्त्रालयका अनुसार युरियामा १५.६३, डीएपीमा ६.६७ र पोटासमा १२.१३ गरी औषतमा ११.७८ प्रतिशतले अनुदान कटौती गरिएकाे छ।


प्रतिक्रिया दिनुहोस