आजदेखि लागू भयो बैंकहरूले घटाएको ब्याजदर, यस्तो छ नयाँ दर

नौलो समाचार संवाददाता
२०७९ चैत्र १, बुधबार मा प्रकाशित ३६६ पटक पढिएको
आजदेखि लागू भयो बैंकहरूले घटाएको ब्याजदर, यस्तो छ नयाँ दर

चैत १,काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जम्मा गरिने निक्षेप र त्यहाँबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंक,विकास बैंक तथा वित्त कम्पनीले आज (बुधबार)देखि नयाँ ब्याजदर लागू गरेका हुन्।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले चैतदेखि कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै अन्य वर्गका वित्तीय संस्थाले पनि घटाएका हुन्।

आजदेखि निक्षेपको ब्याजदर ०.४ प्रतिशतले तथा कर्जाको प्रिमियम दर १ प्रतिशतले घटेको हो । नयाँ ब्याजदरअनुसार साधारण बचतमा ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाइनेछ ।

मुद्दति निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । यस्तैगरी,संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

यता, विकास बैंकहरुले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटेको छ । विकास बैंकहरुको छाता सङ्गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले यस्तो निर्णय गरेको हो । आजदेखि विकास बैंकमा राखिएको निक्षेपमा ११.६० प्रतिशत ब्याज पाइनेछ । एक वर्षभन्दा कमको मुद्दति निक्षेपको ब्याजदर ११।५० प्रतिशत कायम भएको छ ।

विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । त्यसैगरी,वित्तीय संस्थाले मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएका छन् ।

फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दति निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस