नमोबुद्ध नगरपालिका दीर्घकालीन योजनासहितका कृषि रणनीति तयार पार्दै

नौलो समाचार संवाददाता
२०७९ चैत्र २, बिहिबार मा प्रकाशित ३०८ पटक पढिएको
नमोबुद्ध नगरपालिका दीर्घकालीन योजनासहितका कृषि रणनीति तयार पार्दै

चैत २, काभ्रे। नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ।

‘कृषि, व्यापार र पर्यटन: हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो।

नगरको वर्तमान कृषिको वस्तुस्थिती विश्लेषणसहित आगामी बर्षका लागि आवद्यिक योजना, रणनीति तर्जुमा गर्न लागिएको उहाँले जानकारी दिनुभयो। सबै क्षेत्रमा योजनावद्ध विकास गर्न चाहेको बताउँदै नगर प्रमुख लामाले नगरपालिकाले आवद्यिक योजना, योजना बैंक पनि तयार गर्न लागेको जानकारी दिनुभयो। रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो।

योजना निर्माणको लागि कार्यतालिकासहित जिम्मेवारी समेत बाँडफाड गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजक समेत रहनुभएका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो।

कृषि योजना तर्जुमाको लागि फोकल पर्सन तोकिएका प्राविधिक सहायक नविन अधिकारीका अनुसार, नगरपालिकाले छलफल, भेटघाट, अध्ययन, दस्तावेजका आधारमा छिट्टै तथ्याकं संकलन गर्नेछ।

रणनैतिक योजना तयार गर्नकै लागि नगरपालिकाको कृषि शाखाले जनप्रतिनिधी, शाखा प्रमुखहरु, विभिन्न कृषि सहकारी र समूहका र सरोकारवाला समेतको सहभागितामा अभिमुखिकरण गरेको छ।

कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, पूर्व कृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारी लगायतले योजनासहितको विकासले प्रतिफल दिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस